मुगुको डोल्फु गाउँँका २३ घरमा हतियारधारी समूहले लाखौं रूपैयाँको बहुमूल्य सामान लुटे
काठमाडौ । मुगुको मुगुम कार्मारोङ गाउँँपालिका–१ डोल्फु गाउँमा हतियारधारी समूहले लुटपाट गरेको छ ।
सोही गाउँका अधिकांश व्यक्ति यार्सागुम्बा संकलन गर्न गएको समयमा लुटपाट भएको हो । हतियारधारी समूहले गत शनिबार साँझ डोल्फु गाउँमा घरघरमा खानतलासी गर्दै नगद, गहना र सरसामान लगायतका बहुमूल्य सामान लुटेर लगेका मुगुम कार्मारोङका अध्यक्ष छिरिङ क्याप्ने लामाले जानकारी दिनुभयो ।
गाउँमा बूढाबूढी र बालबालिकका मात्र रहेको मौका छोपी हरियारधारी समूहले ५० घरमध्ये २३ घरमा लुटपाट गरेको उहाँको भनाइ छ । लुटेरा समूहले गाउँमा रहेका गुम्बाका पूजारीलाई समेत कुटपिट गरेको अध्यक्ष लामाले बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीले लुटपाटको खबर थाहा पाएपछि गाउँदेखि ५ घण्टा टाढाको पुलु प्रहरी चौकीबाट प्रहरी टोली पठाएको बताउनुभएको छ । विगत वर्षमा पनि स्थानीयवासी यार्सागुम्बा संकलनमा गएको समयमा सोही गाउँमा लुटपाट हुँदै आएको थियो ।
मुगुम कार्मारोङ–१ का वडाध्यक्ष कार्मा तुन्डुक लामाले गाउँमा भएको लुटपाटको बारेमा प्रहरीलाई जानकारी गराएको बताउनुभयो । बन्दुक, तरबार, खुकुरीसहित आएको हतियारधारी समूहले घर फोडेर त्यहाँ रहेका सुन, चाँदी, पुराना भाँडाकुँडा, जडीबुटी, पुराना गरगहना र लत्ताकपडा लगायतका सामान लुटेर लगेको उहाँको भनाइ छ ।
प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले घटनास्थल सञ्चारको पहुँच भन्दा टाढा भएकाले त्यहाँ गएका प्रहरीसँग सम्पर्क गर्न मुश्किल भएको बताउनुभयो । मुगुम कार्मारोङ–१, ३ र ४ नम्बर वडाका वन तथा पाटन से–फोक्सुण्डो राष्ट्रिय निकुञ्जले ओगटेको क्षेत्र हो ।
मुगुम कार्मारोङ गाउँँपालिकाले यहि जेठ १५ गतेदेखि यार्सागुम्बा संलनका लागि अनुमति दिएको छ । स्थानीयवासी जेठ १० गते नै गाउँ छोडेर यार्सागुम्बा संकलनका लागि हिमाली भेगतर्फ गएका हुन् ।