चतराधाम महाकुम्भ मेला सम्पन्न, ४० लाख बढी भक्तजनले स्नान गरे
काठमाडौं । सुनसरीको चतराधाममा १ महिनासम्म लागेको १२ वर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ मेला विधिवत रुपमा पूजार्चना एवं स्नान गरी शुक्रबार समापन भएको छ ।
सोही मेला गत चैत २७ गतेदेखि शुरु भएको हो । मेलाका क्रममा ४० लाख भन्दा बढी भक्तजनले कुम्भ स्नान र बराह भगवानको दर्शन गरेको मेला आयोजक समितिका उपाध्यक्ष किसन थापाले जानकारी दिनुभएको छ । मेला आयोजना गर्न संघीय सरकारले ७० लाख र प्रदेश सरकारले ५५ लाख रुपैयाँ प्रदान गरेको थियो । मेलाको समुद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलले गर्नुभएको हो ।
कुम्भ स्नान गर्न जगतगुरु बालसन्त मोहनशरण देवाचार्य, कोशी प्रदेशसभा सदस्य इस्रायल मन्सुरी, मुख्यसचिव बैकुण्ठ अर्याल, बागमती प्रदेशका सचिव हुमकला पाण्डे, सुनसरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव अर्जुन पोखरेल र बराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्कीलगायत सप्तकोशी नदीमा पुगेका थिए ।
प्राचीन हरिद्वारका नामले समेत प्रसिद्ध चतराधाममा २०५९ सालेखि पूर्ण महाकुम्भ मेला आयोजना हुँदै आएको छ । चतराधाममा प्रत्येक ६ वर्षमा अर्धकुम्भ र १२ वर्षमा पूर्णकुम्भ मेला लाग्ने गरेको हो ।