एसियाकै धनी अम्बानीले रिलायन्सको नेतृत्व कसलाई सुम्पेलान् ?
महिनौंदेखि कर्पोरेट उच्च घरानाको जीवनमा आधारित एम्मी विजेता सिरिज सक्केसनले संसारलाई मोहित पारेको छ । यता भारतमा अर्बौं डलरको भविष्य फैसला गर्ने कर्पोरेट उच्च घरानाको वास्तविक उत्तराधिकारी योजनाको समाचारमा छाइरहेको छ ।
रिलान्यस ग्रुपका मुकेश अम्बानीका तीन सन्तानले अब २२० अर्ब डलर बराबरको कम्पनी सम्हाल्ने भएका हुन् । जुम्ल्याहा ईशा र आकाश तथा अर्का छोरा अनन्तले ग्रुप सम्हाल्ने मुकेश अम्बानीले बताएका छन् । व्यापार हस्तान्तरणबारे अम्बानीले भनेका छन्, ‘अनुभवी नेतृत्व र नयाँ पुस्ताको जोशको संयोजनले रिलायन्सको उपलब्धिको पुस्तिकामा नयाँ अध्याय थप हुनेछ ।’
नयाँ उत्तराधिकारी घोषणा गरे पनि आगामी पाँच वर्षसम्म रिलायन्सको अध्यक्ष र प्रबन्ध निर्देशक आफैं रहने घोषणा मुकेश अम्बानीले गरेका छन् ।
रिलायन्स ग्रुपको व्यापार धिरूभाइ अम्बानीको तेस्रो पुस्तामा हस्तान्तरण भएको हो । भारतीय कर्पोरेट जगतमा यो निर्णय सबैभन्दा बढी प्रत्यासित थियो । रिलायन्स ग्रुप भारतमा विशाल व्यापार साम्राज्य फैलाएको व्यापारिक घराना हो । तेल, दुरसञ्चार, रसायन, प्रविधि, फेशनदेखि खाद्यान्नसम्म रिलायन्सको लगानी छ । यस व्यापारिक घरानाको भारतमा हजारौं पेट्रोल पम्पहरु छन् ।
रिलायन्स ग्रुपले हात हाल्ने हरेक क्षेत्र भारतमा आकर्षणको केन्द्र बनेको छ । त्यस समूहको नेतृत्वका लागि तयार भएर मुकेश अम्बानीका सन्तानले आफ्नो एक जिम्मेवारी पूरा गरेको चर्चा भइरहेको छ ।
रिलायन्स ग्रुपले साधारण र स्वास्थ्य बीमामा पनि हात हाल्ने तयारी गरेको छ । यस्तै उसले फाइभ–जीमा पनि हात हाल्ने बताएको छ । उसले नवीकरणीय ऊर्जामा लगानी बढाउँदै चिसो पेय पदार्थ क्याम्पा कोलाको विश्वव्यापीकरणको योजना अघि सारेको छ ।
नयाँ व्यापारको अवधारणा तय गर्दै आफ्ना सन्तानलाई त्यसको नेतृत्व सुम्पिनका लागि अम्बानी परिवारले वर्षौंदेखि नै तयारी गरेको परामर्शदाता सन्दिप नेरेल्कर बताउँछन् । ‘अम्बानीका सन्तान भएकै कारण तीन जना उत्तराधिकारीमा चयन भएका होइनन् । उनीहरुलाई यसका लागि वर्षौंदेखि तयार गरिएको थियो । हरेक सन्तानका लागि उनीहरुको दक्षता र क्षमता चिनेर जिम्मेवारी दिइएको छ,’ उनले भने ।
मुकेश अम्बानी तल्लो प्रोफाइलमा बस्न रूचाउने व्यक्ति भए पनि उनका सन्तानले निकै आलिसान जीवनयापन गरे । उनीहरु हबेलीमा हुर्किए । उनीहरु निजी विमानमा सयर गर्छन् ।
आफ्नो बुवा धिरुभाइको व्यापार सम्हाल्नका लागि मुकेशले स्ट्यान्डफोर्डको पढाइ छोडेर फर्किएका थिए । उनका सन्तानले भने यल र ब्राउन विश्वविद्यालय पढेर फर्किएका हुन् । कर्पोरेट कार्यक्रममा उनीहरु सामूहिक रुपमा उपस्थित हुन्छन् । अम्बानीका दुबै छोराले उच्च व्यापारिक घरानाका परिवारसँग वैवाहिक सम्बन्ध गाँसेका छन् । अम्बानी परिवार आलिसान जीवनशैलीका कारण धेरैको नजरमा परेका छन् । उनीहरुको वैवाहिक समारोहदेखि सम्पत्तिका कारण धेरैको नजर यस परिवारमा छ ।
तर आफ्ना सन्तानले के गर्ने र के नगर्ने भन्ने सीमा राम्रैसँग पढाउँदै अम्बानीले व्यवहारमा उतारेको निरेल्कर बताउँछन् । उनी भन्छन्, ‘अम्बानीका सन्तान अभिभावकले सिकाएको सीमाको परिधिभित्रै जीवन बाँचिरहेका छन् ।’