दमाई महात्मा, गुरु वैरोचन र प्रकाश सपुतको दमाई महाराज
प्रसंग सुरु गरौँ, ७०–८० वर्षअघिका एक ‘दमाई महात्मा’को चर्चाबाट ।
२००० सालतिर, काठमाडौं ओमबहालमा बस्ने प्रेमराज शर्मा काम विशेषले आफ्ना छिमेकी (परशुराम माथेमा)को घरमा जाँदा आँगनमा एकजना दमैले लुगा सिउन लागेको देखे । त्यसै घरको मुख्य कारिन्दासँग ती दमैको बारेमा उनले भने, ‘यहाँ तपाईंहरूको काम सिद्धिएपछि अनुकूल मिल्छ भने यो दमैलाई मेरो घरमा पठाइदिनुस् है । यो मानिसलाई ज्याला कति दिनुपर्छ नि ?’
जवाफ आयो, ‘ज्याला जति दिए पनि हुन्छ । यति चाहिन्छ भनेर यो मानिस भन्दैन ।’
शर्माले सोधे, ‘किन हँ ?’
ती कारिन्दाले आफ्नो कञ्चटमाथिको टाउकोमा चोर औँलाले अलिकति छोएर तथा त्यो औँलालाई केही बटारेर बिस्तारै भने — यो अलि ठीक छैन ।
‘दिएको काम ता बिगार्दैन नि ?’
‘अहं बिगार्दैन । ज्यालाभन्दा पनि यसलाई एक छाक पेटभरि खान दिनु वेश हो ।’
यति कुरा भएपछि शर्मा घरको चौथो तलाबाट ओर्लेर आँगनमा आउँछन् । ती दमैले उनलाई ‘जदौ’ टक्र्याउँछन् र भन्छन्, ‘एकचोटि हजुरकहाँ आउन मन लागेको छ ।’
‘मैले अचम्म मानेर सोध्नैप¥यो – किन हँ ? यस प्रश्नको उत्तरमा त्यो दमैले अघि ४ तलामाथि बस्ने कारिन्दाले जस्तो आफ्नो चोर औँला कञ्चटमाथि बटारेर यो अलि ठीक छैन भन्यो,’ शर्माले लेखेका छन्, ‘मेरो पेसा औषधि गर्ने पनि हो भन्ने कुरो यसलाई थाहा रहेछ क्यार भन्ने सुरमा मैले भनेँ — म बिहान सात–आठ बजेतिर औषधि दिन्छु, आऊ न । भोलिपल्ट मगज बिग्रेको दमै आउला भन्ने विचारमा थिएँ, तर आएन । धेरै दिन बित्यो दमै आएन ।’
एक दिन शर्माका परिवारको कसैले ती दमैलाई कहीँ भेटेर घरमा लगे, लुगा सिलाउने काम लगाउन । परिवारमा जुन व्यक्तिको तकिया, डसना, सिरकको खोललाई ती दमैले छुन्थे, ती व्यक्तिको स्वभाव र विगतका बारेमा मार्मिक कुरा भनिदिन्थे । त्यसपछि ती दमाई शर्माको घरमा सिलाउन गइरहे ।
‘उनको तीव्र हेराई, भित्तो लागेको गम्भीर र ज्यादै छोटकरी जवाफले मेरो मन पनि तानियो । मैले विचार गरेँ यो एउटा गहिरो मानिस हो । यस पागलको मनोभाव र यो किन पागल भयो भन्ने कुराको जरैसम्म अध्ययन गर्न मलाई धेरै दिन लाग्छ,’ शर्माले लेखेका छन्, ‘बातचितबाट दार्शनिक विचारमा मभन्दा धेरै माथि पुगेको बुझेँ ।’
त्यसपछिका दिनमा भेट हुनासाथ दमाईले जदौ भन्नुअघि नै शर्माले नमस्कार गर्न थाले । पहिले पहिलेको भेटमा ‘तिमी’ भनी सम्बोधन गरेकामा उनलाई लाज लाग्थ्यो । ‘अब त मैले वहाँलाई महात्मा भनेर सम्बोधन गर्न लागेँ । वहाँको बोलाइ, हेराइ, खवाइ इत्यादि सबै कुरामा वहाँको तीव्र वैराग्य झल्कन्थ्यो । मैले राम्ररी बुझ्न नसकेको हिन्दू धर्मानुसार महात्माजीको संगत नहुन्जेल म अनेक रूपका देवी–देवताको अनेक भावनाले उपासना गर्दथेँ । एक दिन वहाँसँग प्रश्न राख्दा वहाँले भन्नुभयो — मनलाई धेरैतिर छर्नुभन्दा एउटै लक्ष्यमा लय गर्ने चेष्टा गर्नु वेश हो ।’
यो प्रसंग प्रेमराज शर्माको पुस्तक ‘तपस्वीको अनुभव’बाट लिइएको हो । यस पुस्तकको पहिलो संस्करण (१९९४ साल) मा शर्माले केही महात्माहरूको चर्चा गरेका छन् । यो पुस्तक निस्केको लगभग ५–६ वर्षपछि उनको भेट ‘दमाई महात्मा’सँग भएको थियो । जसको चर्चा उनले मधुपर्कको पहिलो अंक (२०२५ साल) मा गरेका छन् । ‘तपस्वीको अनुभव’ पुस्तकको दोस्रो संस्करण शर्माकी बुहारी उर्मिला पौडेलले २०५४ जेठ २२ मा निकालिन्, जसमा मधुपर्कमा छापिएको लेख पनि समावेश छ ।
यतिबेला कलाकार प्रकाश सपुतले आफ्नो लेखन र संगीतमा गायिका शान्तिश्री परियारसँग गाएको ‘दमाई महाराज’ बोलको गीतको भिडियो सामग्री चर्चामा छ । यस गीतको विषयवस्तु र दृश्यविधानलाई लिएर विभिन्न प्रतिक्रिया व्यक्त भइरहेका छन् । यस गीतिकथा शैलीको भिडियो सामग्रीमा कलाकार सपुतले ‘दमाई महाराज’को भूमिका समेत निभाएका छन् र मनकै चर्चा गरेका छन् ।
मलाई अनौठो लाग्यो — ती दमाई महात्माले भनेको ज्ञानको सार आज सपुतको भिडियो सामग्रीमा आएको छ ।
शर्माको उपर्युक्त पुस्तक मैले भर्खरै पढेको हुँ, मलाई कसैले दमाई महात्माको चर्चा यस पुस्तकमा छ भनेपछि । अझ अनौठो मलाई मेरो ‘गुरु’ कथा सम्झन पुगेर लाग्यो । गुरु कथा नागरिक दैनिकमा ६ भागमा प्रकाशित छ ।