धरानबाटै देखेको धरान : हर्क साम्पाङको नजर कता ?
बाहिरबाट हेर्दा, बुझ्दा र नियाल्दा धरानमा कुनै समस्या छैन भन्ने भाष्य बनेको छ । सबैतिर धरानको चर्चा परिचर्चा भइरहेको छ । यो धरानमा बस्ने हामी भाग्यमानीका लागि मात्र होइन, बाहिर बस्ने जनजनका लागि खुसीको कुरा हो ।
विशेषतः धरानका मेयर हर्क साम्पाङले गत वर्षको चुनावमा खानेपानीको समस्या समाधान गर्ने नाराकै कभरमा चुनाव जिते । त्यसयता धरानको चर्चा दिन दुईगुना र रात चौगुनाको गतिमा फैलिरहेको छ । निर्वाचन जित्दाको सनसनी सेलाउन नपाउँदै उनले खानेपानी समस्या समाधानका लागि नजिकैको खोला–खोल्सीहरूबाट नितान्त जनश्रममार्फत पानीको पाइप जोड्न थाले । स्वयं मेयर ढुंगा, बालुवा, गिटी र पाइपसँग रमाउँदै गरेको सञ्जालमा भाइरल हुन थाल्यो । उनले श्रम संस्कृतिको विकासका लागि सबैलाई आह्वान पनि गरे । धरान मात्र होइन, बाहिरबाट थुप्रै श्रमदाता सहभागी हुन थाले, जुन क्रम अहिलेसम्म जारी छ ।
मेयरको खानेपानीप्रतिको लगाव र श्रम संस्कृतिप्रतिको रुझान नै लोकप्रियताको शिखर चढ्ने भर्याङ बनेको कुरा सत्य हो । यो हामी सबैले गर्व गर्न र सिक्नलायक विषय पनि हो । अझ धराने भएको नाताले यो पङ्क्तिकारलाई झनै बढी गर्व र खुसी महसुस भइरहेको छ । दिनभरि लुडो, चेस, चियागफमा भुल्ने र डाँडातिर घुमेर रल्लिने धराने जीवनशैलीमा यस्तो श्रम संस्कृतिको उभार चल्नु र चलाउनु चानचुने कुरा होइन ।
भाते, स्वादे, अल्छे र रसरङ्गमै मात्र रमाउने उपभोगवादी संस्कृति हाबी भएको समाजमा यस्तो श्रम अभियान संस्थागत गर्नु सृजनशील विषय हो । यस्तो अभियानलाई सबैले आदर–सम्मान र साथ–सहयोग दिनैपर्छ । श्रम संस्कृतिको दृष्टिकोणबाट नियाल्दा आज धरान श्रमको तीर्थधाम जस्तो भएको छ । सबैलाई आकर्षित गरिरहेको छ । बाहिरबाट हेर्दा धरानमा कुनै समस्या छैनजस्तो भएको छ । केही समस्या भए पनि मेयरको श्रम अभियानले नै चट गरिदिन्छ भन्ने छ, तर धरान भित्रबाट नियाल्दा थुप्रै समस्या समाधान गर्न बाँकी छ । धरानको समस्या धरानेलाई जति अनुभूति हुन्छ, त्यति अरूलाई हुँदैन । यहाँ बाहिरकाले नदेखेको र नबुझेको समस्या उजागर गरिएको छ ।