"मनु" उपन्यास सरसर्ती अध्ययन गर्दा मैले जे बुझे.....
नारायणप्रसाद सापकोटा
"मनु"
ऋग्वैदिक सामाजिक उपन्यास डा. देवीप्रसाद सुबेदीद्वारा लेखिएको कृति हो। मनुष्यलोकका निम्ति नीति नियम र सामाजिक राज्यव्यवस्थाका प्रणेता मानिने मनुको व्यवस्थापनमा देव र असुर जातिबीचको बिभाजनको अन्त्य भई उनकै नेतृत्वमा मानवजातिको विकस भएको बिषयलाई यश उपन्यासले मुख्यरुपमा चित्रण गरेको छ। यो उपन्यास उत्तर ऋग्वैदिक कालकाे पृष्ठभूमिमा लेखिएको छ।
वैदिक ऋषि परम्पराझै मनुको परम्परा पनि रहदै आएको र स्वायम्भुव मनु प्रथम मनु थिए र उनले रचना गरेका धर्मसूत्रहरु लामो समयसम्म स्मृतिका रुपमा, त्यसपछि चित्रलिपिमा र वैवस्वत मनुले आर्यवर्तकोलागी सरलीकरण र संक्षेपीकरण गर्दै ब्राम्ही लिपिमा लिप्यन्तरण गरे र आज यो मनुस्मृतिका नामले चिनिन्छ। ऋग्वेदकालीन समाजमा ब्राह्मण, क्षेत्रीय, वैश्य र शुद्रको वर्ण विभाजन थिएन।उत्तर ऋग्वेदकालीन समयमा आएर मात्र देव र असुर दुई प्रकारको वर्ण देखापरेको हो।यहि देव र असुरको प्रवृतिगत सम्पदालाई झल्काउने भागवत गीताको "चातुर्वर्ण्य मया सृष्टम गुणकर्मविभागश: " लाई मनुले सामाजिक श्रम विभाजनका अर्थमा ब्राह्मण, क्षेत्रीय, वैश्य र शुद्र गरि चार वर्णको व्यवस्था गरे, जसमा यो वर्ण उच्च वा यो वर्ण निच भन्ने छैन। मनुस्मृतिको प्रकाशनकाल ई.पु. २०० देखि ई १०० को बिचको मानिन्छ र यसको प्रथम मुद्रण सन १८१३ मा कलकत्ता भएको देखिन्छ। यति लामो समयान्तरमा मनुस्मृतिको काटछाट, तोडमोड र आफू अनुकुल व्याख्या विश्लेषण हुँदै आए। त्यसकारण ई. पु. १७०० वरपरका वैवस्वत मनुको बारेमा कुनैपनि धारणा बनाउनु भन्दा पनि तत्कालीन समाज बुझ्न यो पुस्तक उपयोगी हुने देखिन्छ।


विवस्वानको पाठशालामा जम्मा भएका मनु यम यमि र उनिहरुका साथिहरु बिचमा छलफल हुँदा दक्ष गुरुकुल शासक र योद्धा उत्पादनमा केन्द्रित भएको र विवस्वानको गुरुकुल समाजसुधार,नैतिक आध्यात्मिक चेतना जगाउने जनशक्ति उत्पादनमा केन्द्रित भएको र उनिहरुबिच बेला बेलामा कलह उत्पन्न हुने गरेको देखिन्छ।" व्यक्ति व्यक्ति मिलेर परिवार, समाज बन्ने हुँदा जवसम्म प्रतेक सदस्यको आचरणमा सुधार आउदैन, तवसम्म समाजमा सुधार आउदैन, त्यसैले शिक्षा व्यक्तिको आचरण सुधार्ने हुनुपर्दछ। विवस्वानको पाठशालामा सामाजिक जीवनका अनेक प्रसङमा छलफल चल्थ्यो। त्यही समयमा पेशाका कुरा, समाजमा महिलाको स्थानको प्रसङ्ग, जीवनसाथी छनोटको अधिकार, युद्धमा महिलाको सहभागिता आदि बिषयमा छलफल हुँदा समयको नियम भनेकै परिवर्तन हो र समयको माग अनुसार परिवर्तन हुन हामी सबै बाध्य छौ भन्ने प्रसङ्ग उठ्छ। यहि प्रसङ्ग बुझाउन वैवस्वान मनुले आफुभन्दा करिब २००पुस्ता अगाडीको विपुला परिवारको कथा प्रस्तुत गरेका छन जसमा महिला स्वतन्त्रता र रक्त सम्बन्धि यौनाचार, समुहमा महिला वर्चस्व को चर्चा र सन्तान आमाको नामबाट चिनिने प्रसङ्ग छ। आमा विपुलाले आफ्नी छोरी रमणिले युवा पुरुषबाट पाएको प्रसम्सा र छिटै आफू बाट गणराज्यको अधिकार छोरीले खोस्छे भन्ने भयले षड्यन्त्रपुर्वक भिरमहको सिकार गर्नेक्रममा हत्या गर्छिन तर त्यही दुर्घटनामा गणकी मालिक्नी विपुला पनि ज्यान गुमाउछिन। एउटै परिवारका दाजु भाइ बिचमा पनि कृषि योग्य जमिनको लागि झैझगडा देखिनु मानिसले घुमन्ते तथा सिकारी अवस्था छोड्दै स्थायी बसोबास तिर अग्रसर हुनु र जिविकोपार्जन कृषिमा आधारित हुँदै गएको प्रसङ्ग मानवशास्त्र को बिषयवस्तु भित्र पर्दछ।विवस्वानका ३ जना सन्तान मध्ये मनु जेठो छोरा,यम र यमी जुम्ल्याहा सन्तान छन। यमीले आफ्नो दाजु मनुबाट सुनेको कथा जसमा महिलाले अस्थायी पति छनोटको स्वतन्त्रता पाएको प्रसङ्गबाट प्रभावित भएर यमलाई प्रणय निवेदन गरेकी र यमले त्यसलाई अहिलेको समय सापेक्ष नभएको भन्दै अस्विकार गरेको प्रसङ्ग मानवशास्त्रमा उल्लेखित रक्त सम्बन्धि बिबाहले परिष्कृत स्वरुप लिदै आएको उद्विकासवादी दृष्टिकोण सङ्ग सामिप्यता राख्दछ। पिता एवं गुरु विवस्वानको पाठशाला बाट मनुले राजनीति र अर्थशास्त्र ( राज्यव्यवस्था) मा अनि यमले आचार र दण्डसहितामा स्नातक सकाएपछी मनुलाई तक्षशिला स्थित अङ्गिराको महाविद्यालयमा मनुष्यलोकको शासन व्यवस्थाको अध्ययन गर्न र यमलाई ईरानवेज ( हालको ईरान )को सुपार्श्व राज्यको शासक बनाउन सकिने संभावना देखेर आरियाना भाषा, त्यहाको दण्ड व्यवस्था,आचारसंहिता र राज्यव्यवस्थाको अध्ययन गराइएको थियो।जुन देवलोकको राजा ईन्द्रले आफ्नो राज्य अक्षुण राख्न चालिएको कदम थियो।ईराजवेजका महागुरु जरथुस्त्रले आफ्नो राज्यमा आउनसक्ने सम्भावित नेतृत्व संकट टार्न अहुरमज्दलाई देवलोक पठाएको हो, जहाँ यमले बाह्लिकमा बस्दा जेन्द अवेस्ता र मज्दी धर्मको अध्ययन गरेको र वेद र जेन्द अवेस्ता र मज्दी धर्मबिचको भिन्नता बुझेकोले मज्दीधर्मको प्रचारक बन्न नसक्ने जानकारी गराउदछन। तर पछि विस्ववान, ईन्द्र यम सबैको सहमतिमा स्नातक समावर्तन सकिएपछी यम सुपार्श्वको सासक बन्न मार्ग प्रसस्त भएको सन्देश अहुरमज्दलाई पठाइन्छ। यो घटनाले तत्कालिन समाजमा "विद्वान सर्वत्र पुज्यते" मान्यताले काम गर्ने गरेको देखिन्छ। यमको राज्याभिषेक अमरावतिमा गर्ने र सपथ महात्मा जरथुस्त्र र धर्मगुरु अहुरमज्द बाट बाह्लिकमा गराएर दुबैतिर नीतिगतरुपमा प्रतिवद्द बनाउने काम भयो।यो तत्कालीन समयमा अपनाइएको उच्चस्तरको कुटनीतिको उदाहरण हो। आर्य र असुर कुनैबेला एउटै परिवारका सदस्य थिए, कालान्तरमा समुन्द्रबाट प्राप्त खजाना बाड्ने बिषयमा विवाद हुँदा एक अर्काका दुस्मन हुन पुगे। असुरहुरु खेतिपाती गर्ने, पशुपालन गर्ने, समथर जमीनमा बस्ने ठुला ठुला नगर विकास गरेका प्रविधिमा पोख्त, समुद्रको पानीबाट नुन निकालेर खाना मा प्रयोग गर्ने समुन्द्रलाई वावतजावतको लागि प्रयोग गर्ने समुन्द्रबाट बहुमुल्य खजानाको खोजी र बिक्रीवितरण गर्ने र बिलासिताको जीवनयापन गर्दछन भने आर्यहरु बाठाटाठा, लेखपढ गर्ने र असुरहरुलाई आक्रमणगरी उनिहरुको राज्य कब्जा गर्ने पहाडी भु भागमा बस्ने चर्चा तक्षशिला जान हिडेका दुई युवक र एक वृद्धको सम्बादमा उल्लेख छ।तक्षशिला तत्कालिन समयमा शैधान्तिक र प्रायोगिक शिक्षाकोलागी प्रसिद्ध भएको कुरा तक्षशिलाका गुरु अङ्गिरा, उनको पुत्र सुधन्वा को वार्ता प्रसङ्ग र त्यहाँ बाट देवलोक पठाइन लागेका ऋभु, विभ्वा र वाजलाई देवलोकमा गएर उनिहरुले निर्माण गर्नुपर्ने यन्त्र उपकरणको चर्चाले प्रष्ट्याएको छ।
तत्कालीन सिधु उपत्यका वरपर बस्ने असुरहरुले कृषि, व्यापार, वास्तुकला, प्रविधि आदिमा अतुलनीय विकास गरेकोले देवलोकबाट समेत त्यहाको अध्ययन गर्न छद्मभेषमा आउने गर्दथे।त्वष्टा, ईन्द्र सुत्रामा का पिता हुन र उनी देवलोकका संरक्षक पनि हुन,उनको कार्यशालामा राम्रा राम्रा काठका रथहरु र अन्य घरायसी प्रयोगका सामान बन्ने गर्थे भने अब काठको साथै अयस ९ फलाम०को पनि हतियार निर्माणकार्य हुन थालेको चर्चा त्वष्टा र क्रतुको वार्तालापबाट प्रष्ट हुन्छ।असुर नायक नमुची र ईन्द्र सुत्रामा बिचमा युद्ध हुँदा असुर नमुचीले बिश्वरुपद्वारा निर्मित रथमा सवार भएको र सो रथमा आपतकालीन खाद्यान्न राख्न मिल्ने गरि बनाइएको प्रसङ्गले हतियार निर्माण बिशिस्टिकरणतर्फ उन्मुख हुदै गएको देखिन्छ।यहि रिसमा ईन्द्र सुत्रामाले झुक्याएर बिश्वरुपको हत्या गरिदिन्छ र असुर नमुचिलाई उत्कृष्ट रथ दिएर देवलोक प्रती घात गरेको आरोप लगाउदछन।आफ्नै पुत्र सुत्रामा ईन्द्रले आफ्नै सौतेनी भाईहरु विश्वरुप र वृत्रको हत्या गरेपछी बिच्छिप्त बनेका त्वस्टाले आफ्नी पत्निको मन बुझाउन छोरी दनुलाई देवलोकमा बोलाउछन र विवस्वान पत्नी दनुले आफ्ना दुबै छोराहरु मनु र यम देवलोक भन्दा मनुष्यलोकमा बस्न रुचाएकाले तक्षशिला गएर मनुले अङ्गिरालाई सहयोग गरेर मनुष्यको लागि सामाजिक रितिस्थिती बसाउन इच्छुक भएको जानकारी गराउदछिन।त्वष्टा पुत्र वृत्रले यज्ञमा प्रयोग हुने पशुवलि र सुरापानको बिरोध गर्दा ज्यान गुमाउनु परेको घटनाबाट देवलोक र अमरावतिका बासिन्दाहरु असन्तुष्ट थिए। त्यसबेला देवलोकमा षड्यन्त्र, ईर्ष्या, व्यविचार र हत्याका सहायताले सुत्रामा ईन्द्रले आफ्ना सम्भावित प्रतिद्वन्दीलाई पन्छाइरहेको हुन्छ, यहि बुझेर मनु र यम पनि देवलोकप्रती अनासक्त छन।गोत्रहत्या र ब्रम्हहत्याको कलङ्कलाई मानोसरोवरमा गएर जतिनै धोएपनी र शिवको अनुग्रह पाएपनी सुत्रामा ईन्द्र यसबाट मुक्त हुन सकेन।
त्यतिबेला तक्षशिलामा असुरहरुले शिन्धुलिपी को विकास गरिसकेका र त्यसको प्रयोग बाट सिन्धु नदि तटका हरियुपिया र पुस्कलावतिका पाठशालामा उच्च कक्षाहरु सन्चालन गरिरहेका थिए, देवलोक यो कुरावाट अनभिज्ञ थियो।
देवलोक पशुवली, सुराको प्रयोग चरु घृतधारा जतिनै हवन गरेर यज्ञलाई बिरोधाभाषपुर्ण बनाउदै थियो भने विवस्वान, उनको पुत्र मनु र उनका नाति इक्ष्वाकु, नाभाग र नरिष्यन्त आदि भने जसरी भोजन सात्विक, राजसी र तामसी हुन्छ, त्यसरिनै यज्ञपनि सात्विक हुँदामात्र त्यसले लोक कल्याण गर्छ नत्र लोक बिनास उन्मुख हुन्छ भन्ने मान्यता राख्न लागेका थिए र देव र असुरबिचको द्वन्दको जिम्मेवार देवगणलाई मान्दथे। यहि सबै घटनाबाट चिन्तित भएर बैवस्वत मनु तक्षशिलामा गएर अङ्गिरा र उनका छोरा सुधन्वा ९ सुधन्वा र बृहस्पति अङ्गिराको दुई पुत्र० सङ मिलेर मनुष्यको लागी नीतिनियम बनाउन इच्छुक बन्दै गएको छ।तर बृहस्पति देवलोकका प्रमुख गुरु छन र पनि देवलोकको विकृति रोक्न सुत्रामा ईन्द्रको डरको कारण असफल छन।विवस्वान परिवार देवलोकको विकृति रोक्न असफल भए पनि मनुष्यलोकमा गएर रितिस्थिती बसाउने र मानवजीवन सहज बनाउने कुरामा लागिपर्ने र आजैका मितिबाट आफ्नो परिवारमा मासुको परिकार प्रयोग नगर्ने निष्कर्षमा पुग्छन। यो घटनाले मानव मस्तिष्कको स्वभाविक उत्विकास सङ्सङै सामाजिक सास्कृतिक जीवनमा आएको नयापन पनि देखिन्छ।

मनुबंशका आदिपुरुष स्वायम्भुब मनुले इलि उपत्यकालाई आफ्नो स्वामित्वमा राखेर कृषकरुलाई कृषिकर्मको लागि मनु परिवारले अधिया कुतमा दिएकोमा पछिल्लो समयमा सुत्रामा ईन्द्रले उत्पादनको सम्पुर्ण भाग हडपेको कारण कृषकहरु दास बन्न पुगे र बिद्रोहमा उत्रन बाध्य भएका थिए। त्यो कृषि दासहरुको समस्या समाधान गर्न बैवस्वत मनुले आफ्नो भुमी माथिको अधिकार छोड्ने र पुरुहूत ईन्द्रले पनि राजस्व कम लिने गरि कृषि दासहरुको बिद्रोह शान्त गरेर देवलोकमा रहेको आफ्नो हकभोग छोडेर मनुष्यलोकमा आर्य सस्कृती र मानव धर्म प्रचारको लागि बैवस्वत मनु परिवार तक्षशिला जाने स्वीकृति लिन सफल भए।
देवलोकबाट हिडेपछी बैवस्वत मनुको परिवार आफ्नी छोरी इला र नाति पुरुरवाले शासन गरेको हेरात राज्यमा आइपुग्छन। आर्यपुत्री इलाले असुर बुधसङ्ग गरेको गान्धर्व बिबाहलाई बैवस्वत मनुले पहिले स्विकार नगरेको भएपनि अहिले आर्य र असुर बिच मेलमिलाप गराउन लागिपरेका मनुले त्यसलाई सहर्ष स्विकार्दै सरयु उपत्यकामा आर्य र असुरबिच मेलमिलाप गराउदछन। यसबाट प्रभावित भएर देवलोकबाट धेरै ऋषिहरु देवजनहरु सरयु र सरस्वती नदि किनारको भू भागमा बसोबास गर्न मनुको पछि लागे भने केही तक्षशिलानै पुग्ने ध्येयकासाथ हिडेका थिए। उपल्लो उत्तरकुरुबर्ष र तल्लो उत्तरकुरुबर्षबाट आएका आर्यहरुलाई गोमती नदि, सरस्वती नदि र सरयु नदि तटमा बसोबासको व्यवस्था मिलाउनु निकैनै कठिन कार्य थियो ।किनकी यिनिहरु फरक फरक हावापानी बाट आएका र फरक सस्कृती भएका जन थिए।त्यसैले बैवस्वत मनुले फरक क्षेत्रका लागि फरक फरक प्रकारको नीति नियम बनाउने र समाज व्यवस्था कायम गर्ने प्रयत्नमा लागे। यसकाममा ऋषि बिश्वामित्र, बशिष्ठ इक्ष्वाकु आदिले सहयोग गर्दै रहे।यात्राको क्रममा मनु पत्नी श्रद्धा बिरामी पर्दा छोरी इलाले युनानी हकिमको सेवा लिएबाट यो उपचार पद्धतिको प्राचिनता पुष्टि हुन्छ।
बैवस्वत मनु सुवास्तु आएपछी त्यहाका नरेश सुदासले सम्राट सिवोदासको समयमा कसरी हरियुपिया र सुवास्तुमा असुर र आर्यहरुबिचको झैझगडा को कारण अग्निदाह गरेर यो बस्तिलाई खंडहर बनाएको रहेछ भनेर बुझे र अब सेतुमन्त र सुवास्तु उपत्यका क्षेत्रमा आर्यजनलाई बसोबासको व्यवस्था गरेपछी सुवास्तु राज्य सुरक्षीत हुने र सरयु सम्राट पुरुरवाले यसलाई आक्रमण
नगर्ने आस्वासन दिए।साथै आर्य असुर बिचको विभेद जात र वर्णको आधारमा नभइ व्यक्तिको गुण र प्रवृत्तिको आधारमा हुनुपर्छ र यसैको आधारमा शासन व्यवस्था सन्चालन हुन सकेमा मनुष्यलोकमा मानवधर्म र लोककल्याणकारी राज्य सन्चालन हुने र आफू तक्षशिला आएको सार्थक हुने बैवस्वत मनुको तर्क छ। तत्कालिन समयमा कुनैपनि राज्य नितीनियम बाट नचलेका र सबै भौतिक शक्ति र राज्य बिस्तारको उद्देश्यले सन्चालित भैरहेकोमा नीतिनियममा आधारित भएर सुवास्तुको राज्यसन्चालनको लागि मैत्रावरुणी वशिष्ठको पुरोहितमा मनोनयन गरेर बैवस्वत मनु, इक्ष्वाकु र अन्य देववासिहरु तक्षशिलातर्फ प्रस्थान गर्दछन।तक्षशिलाका महर्षी अङ्गिरा पितृलोक प्रस्थान गरिसकेको कारण आचार्य सुधन्वाले मनु,इक्ष्वाकु, बिश्वामित्र र अन्य आगन्तुकलाई तक्षशिलामा स्वागत गरे।र स्वायम्भुव मनुबाट प्रतिपादित नीतिनियमलाई सक्षेपिकरण र लिपिवद्द गर्नेकाममा आचार्य सुधन्वासङ्ग मनुले सहयोगको अपेक्षा गर्दछन।त्यसमा सुधन्वाले तक्षशिलामा भएका केही असुर गुरु सोमाहुती भार्गव र उनका सहयोगिले लिपिका बिषयमा सहयोग गर्ने वचन दिन्छन।यो घटनाले तत्कालिन समयमा देवलोकभन्दा तक्षशिला कलाकौसल, भषा, लिपि, प्रविधि र सहिष्णुतामा धेरै अगाडी पुगिसकेको देखिन्छ।
स्वायम्भुव मनुद्वारा त्वक्पत्रमा विकसित गरिएका चित्रलिपी र बैवस्वत मनुद्वारा अभिलिखित आठ हजार सुत्रलाई सक्षेपिकरण र सरलीकरण कार्य सोमाहुती भार्गव र उनको समुहले निरन्तर गर्दै मानवधर्मशास्त्रको अभिलेखिकरण अगाडी बढ्यो।यसमा धर्म र मानिसबिचको सम्बन्ध,मनुष्य जीवनमा पालना गर्नुपर्ने नियम,सस्कार, राजधर्म, दन्डनीती,वर्णगत काम, चारै वेदका मुख्य मर्म आदिलाई नछुटाई अभिलेखिकरण गरियो। बैवस्वत मनुको मानवधर्मशास्त्रको निष्कर्ष निष्काम कर्मद्वारा ब्रम्हज्ञान प्राप्तिलाई मानियो र यसको लिपिलाई ब्राम्ही लिपि नामाकरण गरियो।
बैवस्वत मनुले आफ्नो मानवधर्माशास्त्रको कार्य पूरा भएपछी पुत्र इक्ष्वाकुलाई मानवधर्मशास्त्रको प्रचार प्रसार र लागू गर्न ब्रम्हावर्तमा जादा आफ्नै सहोदर भाईहरु नरिष्यन्त र नाभाग सङ्ग भेट्छन र इक्ष्वाकुलाई त्यहाको सासक बनाएर दुईभाई ब्रम्हर्षी प्रदेश तिर प्रस्थान गर्छन।त्यसको केही समयपछी अहुरमज्दले पठाएको चिट्ठी हात पार्छन जसमा ईरानवेजका सम्राट यमको हत्या भएको समाचार पाउँछन्, भाइ को निधनमा बैवस्वत मनु दुखी हुन्छन।वरुण सङ्ग समुद्री यात्रामा गएका पुत्रहरु प्राशु र दिष्टले निल नदिको किनारमा अवस्थित उपत्यका पत्ता लगाउदछन र त्यहा वरुणको योजनामा सुक्खा जमिनलाई सिचाइ गर्न कुलो बनाएर हराभरा बनाएपछि त्यो कालाहरुको वस्तिलाई वरुणलोक नामाकरण गरिन्छ र वरुण जलदेवताकोरुपमा पुजिन्छन।त्यही समयमा त्यहा मानव लास राख्न पिरामिड बनाईसकेको र मानिसको अनुहार र शरीर भने जनावर भएको मुर्तिपनी उनिहरु देख्छन।त्यही मनु पुत्र द्वय बसेर मानवधर्मशास्त्र र सबितादेवको पूजा आराधनाको प्रचलन चलाएको कुरा मनु र श्रद्धाले थाहा पाउँछन्।
तक्षशिलाका आचार्य सुधन्वाका पुत्र ऋभु र उनका सहयात्री विभ्वा र वाजले देवलोकले दिएको प्राबिधिक र बैज्ञानिक दायित्व पुरागरी एकबर्षमानै देवत्व प्राप्त गरेर
तक्षशिला फर्केर आएपछी आफ्ना गुरु एवं पिता सुधन्वा र बैवस्वत मनुको जिम्मेवारी आफुले लिदै उनिहरुकोलागी वानप्रस्थ आश्रमको मार्ग प्रसस्त गरिदिन्छन। बैवस्वत मनु आफ्ना पुर्वज स्वायम्भुव मनु देखि विकास हुँदै आएको मानवधर्मशास्त्रलाई लिपिवद्द, सरलिकरण र सक्षेपिकरण गराउन सफल भएको र सो ज्ञान आफ्ना सन्ततिहरुले भारतबर्षमा फैलाउदै गएकोमा पुर्ण सन्तुष्ट छन।सुधन्वा एक्लै वानप्रस्थको लागि ब्रम्हावर्त तर्फ लागेभने मनु सपत्निक आर्यावर्ततर्फ लागे।
आफ्नो सम्पुर्ण जीवन मानवधर्मशास्त्र, विधिशास्त्र, नीतिशास्त्रमा खर्चेर सुसासनको वकालत गर्ने मनु परम्परा आजको दिनमा जातीय विभेदका सस्थापककोरुपमा आलोचित हुनु दुखद छ।
एकपटक पढ्नैपर्ने उत्कृष्ट पुस्तक। "मनु"
अस्तु।