पोखराको फोहोर दमकल शाखामा डम्पिङ
महानगरले सहमतिअनुसार काम नगरेको भन्दै स्थानीयले अवरोध गरेपछि पोखराको फोहोर एकहप्तादेखि उठ्न छाडेको छ । फोहोर बोकेका गाडी अस्थायी ल्यान्डफिल साइट रहेको पोखरा ३२, लामेआहाल पुग्न नपाउँदा महानगरको दमकल शाखाको प्रांगणमा थन्किएका छन् ।
समस्या सुल्झिनको साटो झन्झन् बढ्दै गएपछि फोहोर व्यवस्थापनमा महानगरको टाउको दुखाइ बन्दै गइरहेको छ । एकहप्तादेखि सडकमै फोहोर थुप्रिँदा दुर्गन्धसमेत फैलिएको छ । सामाजिक सञ्जालमा व्यापक विरोध हुन थालेपछि महानगरले आइतबारबाट मुख्य बजार क्षेत्रका सडकमा थुप्रिएका फोहोर संकलन गरेर दलकल शाखामा राख्न थालेको हो ।
महानगर सरफाइ शाखा प्रमुख कल्पना बरालले मंगलबारसम्म २० वटा गाडीमा फोहोर संकलन गरिएको छ । ती सबै गाडीलाई दककल शाखाकै जग्गामा राखिएको छ । तर, महानगरसँग उपलब्ध भएका सबै फोहोर बोक्न गाडी भरिन थालेपछि अब के गर्ने भन्नेबारे महानगरसँग जवाफ छैन ।
पोखराको न्युरोड, नयाँबजार, पृथ्वीचोकलगायत मुख्य बजार क्षेत्रका फोहोर उठाएर गाडीमै राख्न थालिए पनि अन्य ठाउँको फोहोर भने उठाइएको छैन । सडकमा थुप्रिएका फोहोर नउठ्दा वर्षाले बगाएर छरपस्ट बनाउने गरेको छ । सडकमा फोहोर थुप्रिन थालेपछि जथाभावी फोहोर नफाल्न महानगरले माइकिङ सुरु गरेको छ ।
पोखरा महानगरले हाल वडा नं. ३२ लामेआहाललाई अस्थायी ल्यान्डफिल साइटका रुपमा प्रयोग गर्दै आएको छ । महानगरले यसअघि पोखरा १४, बच्छीबडूवामा फोहोर फाल्दै आएको थियो ।
नयाँ पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउने भएसँगै लामेआहालमा अस्थायी ल्यान्डफिल साइट तोकेर ६ महिनाअघिबाट फोहोर फाल्न सुरु गरिएको हो । ल्यान्डफिल साइटमा उड्ने चराचुरुंगीका कारण उडान प्रभावित हुनसक्ने भन्दै ल्यान्डफिल साइट स्थानान्तरण गरिएको थियो ।
तत्कालीन समयमा महानगरले लामेआहालका बासिन्दासँग गरेको १६ बुँदे सहमति लागू नगरेको र दिएको ६ महिना अवधि पनि पूरा भइसकेको भन्दै उनीहरुले फोहोर फाल्न रोक लगाएका हुन् । उनीहरुले इच्छा गुरुङको नेतृत्वमा त्यहाँ फोहोर फाल्न नदिन संघर्ष समिति नै बनाएका छन् ।
महानगर सरसफाइ शाखा प्रमुख बरालले लामेआहालका ल्यान्डफिल साइट प्रभावितसँग समन्वय भइरहेको जानकारी दिइन् । ‘स्थानीयसँग हामी छलफलमै छौं । केही दिनमा टुंगो लाग्ला, त्यो टुंगो नलाग्दासम्म अहिले गाडीहरु दमकल छेउमै राखेका छौं,’ उनले भनिन् । उनका अनुसार हाल महानगरबाट दैनिक २ सय टन फोहोर संकलन हुँदै आएको छ ।
योजनाबिनै बस्तीको नजिक फोहोर फालिएको भन्दै महानगरविरुद्ध रिट नै दायर भएको छ । स्थानीय रविन केसी, जितेन्द्रबहादुर केसी र ब्रजेश गुरुङले बिहीबार उच्चमा रिट दायर गर्दै लामेआहालमा कुनै फोहोर विसर्जन नगर्नु भन्दै अन्तरिम आदेश माग गरेका हुन् ।
‘त्यतिबेला पनि हामीले मन बुझाएर फोहोर फाल्न दिएका थिएनौं । पोखराको गौरवसँग जोडिएको विमानस्थल सञ्चालन गर्न अवरोध हुने भएपछि मेयरलाई ६ महिनाको समय दिएर फोहोर फाल्न दिएका थियौं,’ रिट दायर गरेका रविन केसी भन्छन्, ‘६ महिनासम्म महानगर नेतृत्व के गरेर बस्यो ? जवाफ दिनुपर्दैन ?’
उनीहरुले दायर गरेको रिटउपर उच्च अदालतले शुक्रबार विपक्षी बनाइएको पोखरा महानगरपालिकालाई एक हप्ताभित्र कारण देखाऊ आदेश जारी गरेको छ । साउन २१ गते सम्मको म्याद दिएर अदालतले कारण देखाऊ आदेश जारी गरेको हो ।
नयाँ मेयरका रुपमा आएका धनराज आचार्य नेतृत्वको पहिलो कार्यपालिका बैठकले पोखरा ३३, टिमुरपाटामा नयाँ ल्यान्डफिल साइट बनाउने निर्णय ग¥यो । टिमुरपाटामा ल्यान्डफिल साइट बनाउनका लागि विस्तृत अध्ययन गर्न, जग्गा प्राप्ति प्रक्रिया पूरा गर्न तथा पूर्वाधार निर्माण गर्न महानगरले १० करोड रुपैयाँसमेत विनियोजन गरेको थियो ।
तर, निर्णय भएकै १ वर्षभन्दा बढी बितिसक्दासमेत कार्यान्वयनमा आउन सकेको छैन । पुँडीटारमै ल्यान्डफिल साइट बनाउन जग्गा प्राप्तिका लागि मन्त्रिपरिषद्बाट ३ महिनाअगाडि नै निर्णय आइसकेको छ । तर, पनि जग्गा प्राप्तिमा सिडिओ कार्यालयबाट निर्णय हुनुपर्ने निर्णय ढिलाइ हुँदा ल्यान्डफिल साइट बनाउन पनि ढिलो भइरहेको महानगरको भनाइ छ ।