बाह्रबिसे सबस्टेसनको निर्माण तत्काल सक्नुपर्ने दबाब
नेपाल विद्युत प्राधिकरण सिन्धुपाल्चोकको बाह्रबिसेमा निर्माणाधीन २२० केभी सबस्टेसनको निर्माण तत्काल सम्पन्न गर्नुपर्ने दबाबमा परेको छ ।
चिलिमे जलविद्युत कम्पनीको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माण थालिएको १०२ मेगावाटको मध्यभोटेकोशी जलविद्युतको निर्माण अन्तिम चरणमा पुगेपछि सो आयोजनाबाट उत्पादित बिजुली जोडिने सबस्टेसन निर्माण सम्पन्न गर्न प्राधिकरणलाई दबाब परेको हो ।
मध्यभोटेकोशीको निर्माण दुई महिनाभित्र सम्पन्न गर्ने गरी अन्तिम चरणका कामहरु भइरहेका छन् । मध्यभोटेकोशीबाट उत्पादित विद्युत् २२० केभी प्रसारण लाइनमार्फत बाह्रबिसे सबस्टेसनमा जोडिनेछ । आयोजनाले आफ्नो विद्युत गृहबाट बाह्रबिसे सबस्टेसनसम्मको प्रसारण लाइनका टावरहरु निर्माण गरिसकेको छ भने तार तान्ने काम भइरहेको छ ।
बाह्रबिसे सबस्टेसन निर्माणको ठेक्का पाएको चिनियाँ कम्पनीहरू ग्वाङसी ट्रान्समिसन एण्ड सबस्टेसन कन्ट्रक्सन र सेन्जेन क्लाउ इलेक्ट्रोनिक्सको संयुक्त उपक्रमको कमजोर कार्यसम्पादनका कारण सबस्टेसनको निर्माणमा ढिलाइ हुँदै आएको छ ।
प्राधिकरणले कार्यसम्पादन सुधार्न पटक–पटक दिएको निर्देशक निर्माण व्यवयासीले पालना नगर्दा सबस्टेसन निर्माण सम्पन्न हुने तालिका प्रभावित हुँदै आएको छ । प्राधिकरणले सबस्टेसनको निर्माण सम्पन्न नभएर मध्यभोटेकोशीको विद्युत् जोड्न नसकिएमा त्यसको क्षतिपूर्ति निर्माण व्यवसायीबाट भराउने चेतावनी दिंदै आएको छ ।