कांग्रेस बैठकको सन्देश : सत्ता गठबन्धन दायाँबायाँ हुन्न
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठकबाट सत्ता गठबन्धनमा दायाँबायाँ नगर्ने सन्देश दिएको छ । साउन २ देखि १० सम्म चलेको बैठकले सत्ता गठबन्धन सुदृढ गर्दै राजनीतिक स्थिरता कायम गर्ने सबैको दायित्व भएको ठहर गरेको हो ।
कांग्रेसले बैठकको एक नम्बर निर्णयमै संविधानको रक्षा र कार्यान्वयन गरी संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । नयाँ सत्ता समीकरणपछि पहिलो पटक बसेको कांग्रेस केन्द्रीय समिति बैठकले सत्ता गठबन्धन फेरबदलको हल्लालाई खारेज गरेको छ । सत्ता गठबन्धनमा सरकारको नेतृत्वबारे भएको आलोपालो सहमतिका सन्दर्भमा भने बैठक मौन बसेको छ ।
बरु कांग्रेस बैठकले वर्तमान सत्ता गठबन्धन निर्माणको पृष्ठभूमि स्मरण गर्दै स्थायित्वमा जोड दिएको छ । केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले संघीय लोकतान्त्रिक गणतन्त्रलाई कमजोर पार्न कानुनी राज्य, विधिको शासन, पारदर्शिता र जबाफदेहिता जस्ता लोकतन्त्रका मूलभूत आधारमै प्रहार गरी पटक–पटक संसद् विघटन हुँदा संविधान पक्षधरहरु एक ठाउँमा आएको कांग्रेसले बताएको छ ।
विगतका सबै आन्दोलनका उपलब्धिहरुको रक्षा गरी संविधान कार्यान्वयन गर्दै जनतामा विधिको शासन प्रत्याभूत गर्ने अठोट लिएर पाँच दलीय गठबन्धन बनेको पनि कांग्रेस बैठकले प्रस्ट पारेको छ । साथै २०७९ का सबै तहका निर्वाचनमा पाँच दलीय गठबन्धनले सन्तोषजनक परिणाम ल्याएको कांग्रेसको निष्कर्ष छ ।
चुनावी परिणामलाई लिएर गठबन्धनमा आबद्ध सबै दलहरुका बीचमा केही असन्तुष्टि देखिँदा संघीय सरकार निर्माणका दौरानमा पहिलो चरणमा ठूलै कठिनाइ सिर्जना भएको कांग्रेसको विश्लेषण छ ।
पहिलो चरणमा सरकारको नेतृत्व कांग्रेस गर्ने कि माओवादी केन्द्र भन्ने विषयमा मतभेद हुँदा पुस १० मा चुनावी गठबन्धन भत्किएको थियो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एमाले, रास्वपा र राप्रपासहितको समर्थनमा प्रधानमन्त्री बन्दा निर्वाचनबाट पहिलो बनेको कांग्रेस सत्ता राजनीतिबाट किनारा लागेको थियो ।
‘हाम्रा अगाडि आएका केही महत्त्वपूर्ण राष्ट्रिय र प्रादेशिक जिम्मेवारी प्राप्त गर्ने अवसरहरु अनायास टरेर गए । यसले गठबन्धनका अन्य दलहरुमा अन्यौलता सिर्जना ग¥यो भने नेपाली कांग्रेसको सिङ्गो सांगठनिक संरचनाभित्र र बाहिर निराशा छायो,’ केन्द्रीय समिति बैठकको निर्णयमा भनिएको छ ।
प्रतिकुल राजनीतिक परिस्थितिमा किञ्चित विचलित नभई होसियारी साथ पार्टीका अनुभवी नेताहरुले आफ्नो राजनैतिक कौशलता प्रदर्शन गरी नेपाली राजनीतिलाई लयमा फर्काएको कांग्रेसको बुझाइ छ । माओवादीलाई एमालेसँगको सहकार्यबाट फर्काएर सत्ता राजनीति तय गर्नुलाई कांग्रेस बैठकले प्रतिष्ठा ठानेको छ ।
गठबन्धनमा आबद्ध दलहरुले कांग्रेसलाई थप भरोसा गरेको भन्दै निराश भएका कांग्रेसजनमा पुनः उत्साह छाएको बैठकको निष्कर्ष छ । पुनर्जागृत गठबन्धनको जगमा कांग्रेसका तत्कालीन वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचन हुने स्थिति बनेको कांग्रेसले बताएको छ ।
केन्द्र र तीन प्रदेशको सत्ता साझेदार कांग्रेसले चार प्रदेश र ३३३ स्थानीय सरकारको नेतृत्व सम्हालेको छ । प्राप्त उक्त अवसरहरुलाई उच्चतम प्रयोग गरी मुलुक र जनताको अधिकतम हितमा कार्य गर्न सक्दा मात्रै जनताको विश्वास जित्न सकिने कांग्रेसको ठहर छ ।
कांग्रेसबाट निर्वाचित सबै तहका जनप्रतिनिधिहरुलाई भ्रष्टाचार नियन्त्रण गरी विकास निर्माणमा देखिएको बेथिति अन्त्य गर्दै आर्थिक अनियमितताबाट अलग रही जनतामा सुशासनको प्रत्याभूति हुने गरी परिचालन गर्ने बैठकले सङ्कल्प गरेको छ ।