हेटौँडा सडक विस्तार : पाँच सयभन्दा बढी घर भत्किने, छ सय व्यवसायी प्रभावित हुने
पूर्व–पश्चिम राजमार्गअन्तर्गतको पथलैयादेखि नारायणगढ खण्डको सडक खण्डमा पर्ने घर भत्किने भएका छन् । यो खण्डको सडक विस्तार कार्यका लागि डिभिजन कार्यालय हेटौँडाले निकालेको सूचनाअनुसार सो खण्डका घरटहरा भत्किने भएका हुन् । सो सडक सीमामा निर्माण भएका घरटहरा हटाउने सूचनाको म्याद सकिन अब १० दिन मात्र बाँकी छ । यही साउन १५ गतेभित्र सडक सीमा क्षेत्रमा रहेका घर टहरा हटाउनुपर्ने सूचनाको म्याद छ ।
यो खण्डको सडक विस्तार गर्न पछिल्लो पटक असार १० गते सडक डिभिजन कार्यालय हेटौँडाले ३५ दिने सूचना जारी गर्दै सडक क्षेत्र अतिक्रमण गरेर निर्माण गरिएका भौतिक संरचना हटाउन आग्रह गरेको हो । उक्त अवधिभित्र राजमार्गको दायाँबायाँ २५–२५ मिटर सडक सीमाभित्र निर्माण भएका हेटौँडाको मुख्य बजार क्षेत्रका घरहरू खाली गर्नुपर्ने सूचनाको आशय हो ।
सोही सूचना अनुसार हेटौँडा उपमहानगरपालिकाले पनि बजार क्षेत्रको सडक विस्तारमा सघाउन सडक किनारमा रोपिएका फूल तथा बिरुवाहरूको गमलालाई स्थान्तरण गर्न थालेको छ । उपमहानगरपालिकाको गत असार दोस्रो सातामा बसेको नगरसभाबाट सडक विस्तारमा समन्वय र सहकार्य गर्ने सर्वसम्मत निर्णय नै भएको थियो । सोही निर्णयअनुसार उपमहानगरपालिकाले बुधबार रातिबाट सडक किनारमा भएका गमला तथा फलामे बार हटाउन सुरु गरेको हो । पूर्व–पश्चिम राजमार्गको २५ मिटर क्षेत्रमा पर्ने भएपछि उपमहानगरपालिकाले उक्त सडकअन्तर्गत रहेको हेटौँडा–१ र १० तर्फको राप्ती रोडको सडक पेटीमा राखिएका गमला स्थानान्तरण गरेको हो ।
उपमहानगरपालिकाले सडक विस्तारमा सहजता प्रदान गर्न उक्त सडक क्षेत्रको किनारमा रहेका अशोकका बिरुवा पनि स्थानान्तरण गर्ने तयारी गरेको छ भने सबै वडा अध्यक्षहरूलाई सडक विस्तार कार्यमा सहजीकरण गर्न आग्रह गरेको छ ।
लामो समयदेखि उक्त राजमार्गअन्तर्गतको मकवानपुर खण्डको सडक हालसम्म विस्तार हुन सकेको छैन । दैनिक हजारौँ सवारी साधन र बढ्दो जनसङ्ख्याको चापका कारण हेटौँडा बजार अव्यवस्थित भनेको छ भने साँघुरो सडकमा सवारी चापका कारण दुर्घटनाको जोखिम बढ्दो छ । सडक डिभिजन कार्यालय हेटौँडाले सडक सीमामा निर्माण गरिएका भौतिक संरचना हटाउन सूचना निकालेसँगै सो विषयले निकै चर्चा पाएको छ । सडक विस्तारका लागि हेटौँडाको रातोमाटेदेखि राप्ती पुलसम्म मुख्य रूपमा समस्या रहेको छ ।