प्रधानमन्त्री, गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा मागिहाल्ने संस्कार राम्रो होइन: दाहाल
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक उद्देश्यका लागि प्रधानमन्त्री, गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग्ने संस्कार राम्रो नभएको बताएका छन्।
प्रधानमन्त्री, गृहमन्त्री र अर्थमन्त्रीलाई राम्रोसँग स्पष्टीकरणको मौकासमेत नदिई राजीनामा मागिएको उनले बताए।
इटलीबाट स्वदेश फर्केका प्रधानमन्त्री दाहालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबार भएको पत्रकार भेटघाटमा भने, ‘राजनीतिक उद्देश्यको लागि प्रधानमन्त्रीको राजीनामा मागिहाल्ने, गृहमन्त्रीको राजीनामा मागिहाल्ने, अर्थमन्त्रीको राजीनामा मागिहाल्ने जो संस्कार बस्न खोजेको छ, त्यो राम्रो होइन।’
उनले प्रधानमन्त्री, गृहमन्त्री र अर्थमन्त्रीलाई स्पष्टीकरण दिने मौकासमेत नदिई राजीनामा दिने भए देऊ नत्र सदन चल्न दिँदैनौं भनेर पहिल्यै घोषणा गर्ने संस्कार बसेको पनि बताए।
‘यस्तो कल्चरले हामीलाई राम्रो ठाउँतिर लैजाँदैन। म यत्ति भन्न चाहन्छु,’ उनले भने।
विमानस्थलमा सुन भेटिएको प्रकरणमा सांसदहरूले संसदमा बोल्दै गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा मागेका थिए।