जीबी राई समूहको बदमासी : सहकारी नेटवर्क खडा गरी १६ अर्ब संकलन, अवैध नेटवर्किङ व्यवसायमा लगानी
गितेन्द्रबाबु (जीबी) राई र उनको समूहले सहकारीका बचतकर्ताको १६ अर्बभन्दा बढी रकम दुरुपयोग गर्दै नेटवर्किङ व्यवसाय चलाइरहेको पाइएको छ ।
राई कुनै समय सबभन्दा ठूलो नेटवर्किङ व्यवसाय हर्बो इन्टरनेसनलका एक साझेदार थिए । सो कम्पनीमा रहँदै गर्दा उनले २०६६ सालमा गोर्खा ग्रुप अफ कम्पनी खोलेको थिए । सरकारले नेटवर्किङ व्यवसायमा २०६८ मा प्रतिबन्ध लगायो । त्यसपछि नेपालमा हर्बो बन्द गरी त्यही नेटवर्कलाई प्रयोग गरेर देशभर करिब एक दर्जन सहकारी सञ्चालनमा ल्याए । तिनै सहकारीमा सर्वसाधारणले जम्मा गरेको रकम दुरुपयोग गरी नेचर हर्ब्स, नेचर नेस्टलगायतको नाममा नेपालसहित ७ देशमा नेटवर्किङ व्यवसाय चलाइरहेका छन् ।
गोर्खा ग्रुप अफ कम्पनीका अध्यक्ष कुमार रम्तेलले आफ्नो समूहले सातवटा सहकारी सञ्चालन गरिरहेको स्वीकार गरे । रम्तेल भन्छन्, ‘हाम्रो टिमको सुरुवात पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाबाट भएको हो ।’
ती संस्थामध्ये ३ अर्ब रुपैयाँ निक्षेप रहेको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था, काठमाडौंको अध्यक्ष जीबी राई आफैं हुन् भने कुमार रम्तेल कोषाध्यक्ष छन् । उपत्यका बाहिर पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी, बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी, नेपालगञ्जको समानता बचत तथा ऋण सहकारी, चितवनको सहारा चितवन बचत तथा ऋण सहकारी र वीरगञ्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्था पनि यही समूहको हो । सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको सचिवमा पूर्वउराष्ट्रपति नन्दकिशोर पुनका छोरा दिपेश पुन छन् ।
तीनवटा सहकारी संस्थामा जीबी राई आफैं अध्यक्ष छन् भने कुमार रम्तेल ४ वटामा । जबकि सहकारी ऐन– २०७४ मा एउटा व्यक्ति एक समयमा एउटा मात्रै संस्थाको सञ्चालक हुनसक्ने व्यवस्था छ । तर, यो समूहले संघ, प्रदेश र स्थानीय तह फरक–फरक नियामकअन्तर्गत सहकारी दर्ता गरेर सरकारलाई समेत झुक्याएको देखिन्छ ।
थप पाँचवटा सहकारीमा उनीहरुकै समूहका व्यक्तिहरु अध्यक्ष तथा सञ्चालक छन् । जीबी राईले आफ्ना दाजुभाइ अनन्तबाबु र देवेन्द्रबाबु राईलाई पनि सहकारीको सञ्चालकको जिम्मेवारीमा राखेका छन् । उनीहरुकै समूहमा रहेका आशिस आनन्द र असरफ अली सिद्धिकी एकभन्दा बढी संस्थामा एकसाथ सञ्चालक छन् ।
यो समूहको आबद्धता रहेको सबै सहकारी समस्यामा छन् । पछिल्लो एक वर्षयता कुनै पनि सहकारी संस्थाले निक्षेपकर्ताको बचत रकम फिर्ता गरेका छैनन् ।