नेपालबाट ६७ अर्ब बढीको आईटी सेवा निर्यात, एक वर्षमा ६४ प्रतिशतले वृद्धि
नेपालबाट सन् २०२२ मा करिब ५१ करोड ५० लाख अमेरिकी डलर अर्थात ६७ अर्ब ९३ करोड नेपाली रूपैयाँको सूचना प्रविधि सेवा निर्यात भएको छ ।
सर्वाङ्गीण विकास अध्ययन केन्द्र (आईआईडीएस) को नेतृत्वमा भएको अध्ययनले सन् २०२२ मा मात्रै करिब ६८ अर्ब रुपैयाँको सूचना प्रविधि सेवा निर्यात भएको देखाएको हो ।
सन् २०२२ मा १०६ वटा सूचना प्रविधि कम्पनी र १४ हजार ७२८ स्वतन्त्र निर्यातकर्ता (फ्रिलान्सर) यो सेवा निर्यात गरेका हुन् ।
यस्तै घरमै बसेर ६६ हजार ५०९ जना फ्रिलान्सरहरू डिजिटल प्ल्याटफर्ममा आईटी सेवा निर्यात गरिरहेको अध्ययनले देखाएको छ । देशको कुल गार्हस्थ उत्पादन (जीडीपी) मा आईटीको योगदान १.४ प्रतिशत रहेको रिपोर्टमा उल्लेख छ । मुलुकको कुल विदेशी विनिमय सञ्चितिमा आईटी सेवाको योगदान ५ दशमलव ५ प्रतिशत रहेको पनि अध्ययनले देखाएको छ ।
आईटी कम्पनीले सन् २०२२ मा २० करोड १० लाख, आईटी फ्रिलान्सरले ६ करोड ९० लाख र सूचना प्रविधि सेवा इनेबल सर्भिस (आईटीईएस) फ्रिलान्सरले २४ करोड ४० लाख अमेरिकी डलर बराबरको सेवा निर्यात गरेको अध्ययनमा उल्लेख छ ।
यस्तै सन् २०२१ को भन्दा सूचना प्रविधि सेवा निर्यात ६४.२ प्रतिशतले वृद्धि भएको छ । सन् २०२१ मा ३१ करोड ३० लाखको आईटी सेवा निर्यात भएको थियो । यस्तै सन् २० सय २० मा ३० करोड ८० लाख बराबरको आईटी सेवा नेपालबाट निर्यात भएको थियो ।
आईआईडीएसले प्राइमरी डेटाको रूपमा ३८९ फ्रिल्यान्सर र ८६ आईटी कम्पनीको सहभागीतामा उक्त अध्ययन गरेको थियो । यस बाहेक १०० बढी सरोकारवालासँग परामर्स समेत गरिएको थियो ।
सेकेन्डरी डेटाको रूपमा नेपाल राष्ट्र बैंक, आन्तरिक राजस्व विभाग, राष्ट्रिय तथ्यांक कार्यालय, कम्पनी रजिष्टारको कार्यालय र अनलाइन लबर इन्डेक्सको तथ्यांकलाई लिइएको थियो ।
नेपालमा आईटी सम्बन्धी सीप सीमित मात्रामा रहेको रिपोर्टले देखाएको छ ।नेपालमा आईटी क्षेत्रको विकासका लागि यस क्षेत्रमा जनशक्तिको सीप र क्षमता बढाउनुपर्ने, उच्च गतिको इन्टरनेटको पहुँच बढाउनुपर्ने सुझाव पनि अध्ययनले देखाएको छ ।