जयनगर–भङ्गाह रेल सेवा विस्तार
महोत्तरीको लोहरपट्टी नगरपालिका–४ खुट्टाका ५५ वर्षीय जोगी साहलाई आफ्नै जीवनकालमा फेरि रेल चलेको देख्न पाइएलाजस्तो लागेको थिएन। तर आज आँखा अगाडि २१ वर्षपछि रेल चलेको देख्दा साहलाई अचम्म त लागेको थियो नै त्योभन्दा बढी खुसी सम्हालिनसक्ने थियो।
'हल्ला त धेरै सुनेको थिएँ तर विश्वास लागेको थिएन। आज त आफ्नै आँखा अगाडि रेल चलेको हेर्न पाइयो, यो सपना हो कि विपना हो जस्तै लागिरहेको छ। त्यही रेल चढेर भङ्गाहदेखि जनकपुर पुग्दा त खुसीको सीमा नै छैन। कसरी व्यक्त गरूँ?', साहले भने।
उनका अनुसार २१ वर्षअघि जयनगरदेखि भङ्गाह विजलपुरासम्म रेल चलिरहेको थियो। त्यही रेलमा सो क्षेत्रका स्थानीयवासी जनकपुर र जयनगरसम्म यात्रा गर्थे तर रेल र रेल गुड्ने लिक तथा विगिही पुल भत्किएपछि सो सेवा अवरूद्ध भयो।
‘रेल बन्द भएपछि यतिका वर्षसम्म जनकपुर आउन पनि हामीलाई धेरै गाह्रो भएको थियो। जनकपुर पुग्न घन्टौं लाग्थ्यो। अब रेल सञ्चालन भएपछि ३० मिनेटमै जनकपुर आवतजावत गर्न सहज हुने भयो। त्यसैले हाम्रो क्षेत्रका नागरिक निकै हर्षित छौं’, साहले भने।
त्यसैगरी भङ्गाहकै ६० वर्षीया बेचनी थरुनीले पनि जीवनको उत्तरार्धमा फेरि आफ्नै आँगनमा रेल देख्न पाएकामा खुसी व्यक्त गरिन्।
उनले भनिन्, ‘हो बौवा हमई नई लागल्छलकि अई उमर मे रेल देख पाइब, लेखिन आई अपने आँगनमे रेल देख्के बुझाइए कि हम् स्वर्ग देखरहल छि। आब बहुत जल्दी वही रेल चहड क जानकी मैया के दर्शन करबाक इच्छा अई (यो उमेरमा फेरि रेल हेर्न पाइला भनेर सपनामा पनि सोचेकी थिइनँ तर आज आफ्नै आँगनमा रेल हेर्न पाएकामा ज्युँदै स्वर्ग देखेजस्तो लागिरहेको छ। अब त्यही रेल चढेर जानकी माताको दर्शन गर्न जनकपुर पुग्ने इच्छा छ)।’
साह र थरुनी मात्रै होइन, भङ्गाहमा २१ वर्षपछि रेल देख्दा स्थानीयवासी निकै हर्षित छन्।
त्यसैले आसपासका गाउँबाट समेत ट्र्याक्टर, मोटरसाइकल र निजी सवारी साधनमा हजारौं मान्छे रेल हेर्न आएका थिए। त्यहीबीचमा संघीय सरकारका भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले झण्डा हल्लाएर रेललाई जनकपुरका लागि बिदाई गरेपछि स्थानीयवासीले पनि हात हल्लाएर खुसी व्यक्त गरे।
त्यसअघि रेलसेवा शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री ज्वालाले जयनगरदेखि जनकपुर कुर्थासम्म ३५ किलोमिटरमा रेल सञ्चालन हुँदै आएकामा अब थप १७ दशमलव तीन किलोमिटरसहित ५२ दशमलव तीन किलोमिटर लामो दूरीमा सेवा सञ्चालन हुन लागको बताए।
उनले गत जेठ १८ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उच्चस्तरीय भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री दाहालले संयुक्तरूपमा यो खण्डको भुर्चअल उद्घाटन गरेअनुसार रेल सञ्चालन भएको बताए।।