९ वर्षपछि पेट्रोलियम पदार्थमा पुनः स्वचालित मूल्य प्रणाली, स्थायित्वमा शंका
नेपाल आयल निगमले ९ वर्षपछि पुनः पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू गरेको छ । आइतबार साँझ पत्रकार सम्मेलन गरेर निगमले उक्त प्रणाली कार्यान्वयनमा ल्याएको घोषणा गरेको हो ।
आइतबार राति १२ बजेबाट लागू भएको उक्त प्रणालीले डिजेल, पेट्रोल, मट्टीतेल र ग्याँसको मूल्य नियमन गर्ने निगमका अध्यक्ष एवम् वाणिज्य तथा आपूर्ति सचिव मधुकुमार मरासिनीले बताए ।
कार्यान्वयनमा आएको स्वचालित मूल्य प्रणालीअनुसार निगमले परल मूल्यमा डिजेलमा २ प्रतिशत र पेट्रोलमा २.५ प्रतिशत नाफा राखेर मूल्य तोकेको जनाएको छ । जसअनुसार डिजेल र मट्टीतेलको मूल्य लिटरमा ४–४ रूपैयाँ र पेट्रोलको मूल्य लिटरमा ६ रूपैयाँले घटेको छ ।
यस्तै, खाना पकाउने ग्याँसमा नाफा नराख्ने नीतिअनुसार निगमले हाल नाफा रहेको प्रतिसिलिण्डर १० रूपैयाँ मूल्य पनि घटाएको छ ।