चारतारे पार्टीमा उदाएका दुई ताराका चुनौती
एक वर्ष लामो अन्तरालपछि बसेको कांग्रेसको बहुप्रतीक्षित र बहुचर्चित केन्द्रीय समिति बैठक अपेक्षाकृत उपलब्धिमूलक भएन । यद्यपि बैठकले तत्कालीन र दीर्घकालीन दुवै दृष्टिले अर्थपूर्ण मिश्रित राजनीतिक सन्देश प्रवाह गरेको छ ।
महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्माले पेस गरेका कार्यसूची र कार्ययोजना केन्द्रीय समितिबाट पारित भएपछि सकारात्मक सन्देश सम्प्रेषण भएको छ र कांग्रेसले पुनर्जीवन पाउने आशाको किरण देखिएको छ ।
तर महामन्त्रीद्वयद्वारा प्रस्तुत गरिएको कार्यसूचीमा छलफल नगरी अतिरिक्त र विवादित विषयमा गरिएको अनावश्यक आरोप-प्रत्यारोप र चर्चा फेसबुक प्रत्यक्ष प्रसारणमा देखेपछि जनता र कार्यकर्ता भने निराश भएका छन् ।
इतिहासमा पहिलोपटक महामन्त्रीले नै नोट अफ डिसेन्ट लेख्नुपर्ने दुर्भाग्यपूर्ण परिस्थिति सिर्जना भएपछि कांग्रेसको भविष्य र रुपान्तरणको सम्भावना थप कमजोर भएको हो ? भन्ने आशंका जन्मिएका छन् ।
बैठकको प्रत्यक्ष प्रसारण गरेर आफूलाई शक्तिशाली देखाउने र नेतृत्व परिवर्तनको पक्षमा बहस-पैरवी गर्दै आएका महामन्त्रीद्वयलाई ‘हैसियत देखाइदिने’ सभापति शेरबहादुर देउवाको रणनीति थियो । सभापति भर्सेस् महामन्त्री भएको बैठकको परिदृश्यको आधारमा विश्लेषण गर्दा पुरानो र स्थायी गुट विघटन भई सैद्धान्तिक र वैचारिक आधारमा नयाँ ध्रुवीकरण हुने पूर्वसंकेत देखिएको छ, जुन कांग्रेसको भविष्यको दृष्टिले सकारात्मक हो ।
तर केन्द्रीय समितिको बैठकमा दृढतापूर्वक नेतृत्वलाई चुनौती दिंदै आत्मविश्वासका साथ आफ्ना विचार, दृष्टिकोण र कार्यक्रम प्रस्तुत गरेको प्रत्यक्ष जनताले देखेपछि गगन-विश्वले थप राजनीतिक माइलेज हासिल गरेका छन् । त्यसैले प्रत्यक्ष प्रसारणको राजनीतिक लाभ पनि प्रकारान्तरले गगन-विश्वले हासिल गरेका छन् ।
बैठकमार्फत गगन-विश्वले सभापतिलाई विधानमा अनुबन्ध गर्न तथा पुराना पुस्ताका नेतृत्वपंक्तिलाई सकारात्मक दवाव दिन सफल भएका छन् । बैठकमा जतिसुकै अवाञ्छित बहस-विवाद तथा अतिरन्जित आरोप-प्रत्यारोप भएपनि अन्ततः पार्टी सुदृढीकरण, सुधार र रुपान्तरणका दृष्टिले केही महत्वपूर्ण र दूरगामी निर्णयसमेत भएका छन् ।
बैठकमा गगन-विश्वले महामन्त्रीको हैसियतले औपचारिकताका लागि मात्रै एजेण्डा पेस गरेनन्, पार्टी सुदृढीकरण, सुधार र रुपान्तरणका लागि समयतालिका सहितको क्यालेन्डर र कार्ययोजना नै प्रस्ताव गरे । यसैगरी गगनले परिवर्तित सन्दर्भमा कांग्रेसले अनुसरण गर्नुपर्ने सिद्धान्त, विचार र नीतिको बारेमा ४१ पृष्ठ लामो ठोस दस्तावेज प्रस्तुत गरेपछि कांग्रेसमा शक्तिशाली तरंग सिर्जना भएको छ । बैठकमा स्पष्ट दृष्टिकोण, विचार र कार्ययोजनासहित जसरी आत्मविश्वास र दृढतापूर्वक महामन्त्रीद्वय प्रस्तुत भए, उनीहरू लामो यात्राका लागि विश्वासपूर्ण सहकार्यमा रहेको देखिन्छ ।
सञ्चारमाध्यम र सामाजिक सञ्जालमा सार्वजनिक खपतका लागि बोल्ने तर पार्टीका आधिकारिक निकायमा आफ्नो कुरा राख्न नसक्ने भनी देउवा समूहबाट लगाइँदै आएको आरोप निराधार भएको गगन-विश्वले बैठक मार्फत पुष्टि गरेका छन् ।
वस्तुनिष्ठरूपमा विश्लेषण गर्दा यसपटकको बैठकमार्फत नीति र नेतृत्व दुवै दृष्टिले संक्रमणकालबाट गुज्रिरहेको कांग्रेसमा गगन-विश्व वैकल्पिक नेताका रूपमा स्थापित भएका छन् । अर्थात् चारतारे पार्टी कांग्रेसमा गगन र विश्व दुई ताराका रूपमा उदाएका छन् ।
१४ औं महाधिवेशनमा लोकप्रिय मतका साथ महामन्त्रीमा निर्वाचित भएपछि नै ‘भावी नेता गगन-विश्व’ भन्ने न्यारेटिभ बनिसकेको सन्दर्भमा यो बैठकमार्फत थप पुष्टि भएको छ ।
सिन्डिकेट प्रणालीको आधारमा बनेको पार्टी संरचनामा अहिले गगन-विश्वको पकड नभए पनि जनता र कार्यकर्ता तथा सदस्य पङ्क्तिमा लोकप्रिय छन् । त्यसैले लोकप्रिय मतका साथ दुवैजना महामन्त्रीमा निर्वाचित भएका थिए । गगनले लोकप्रिय मतका साथ तीनपटक चुनाव जितिसकेका छन् भने परम्परागत रूपमा वामपन्थीहरूको पकड भएको झापाबाट यसपटक विश्वप्रकाशले करिब १५ हजार मतान्तर सहित विजय भएका छन् । यो उनीहरूको केवल प्राविधिक विजय मात्रै होइन, जनता र कार्यकर्ताको उनीहरूप्रतिको आशा, भरोसा र विश्वास निर्वाचनमार्फत् व्यक्त भएको हो ।
समुन्नत नेपाल, आर्थिक विकास, डेलिभरी, सुशासन, सामाजिक न्याय, जनताप्रति उत्तरदायी सरकार तथा पार्टी सञ्चालन गगन-विश्वका संकल्प र प्रतिबद्धता हुन् । अहिले कांग्रेसजन र जनताले खोजिरहेको नेतृत्व पनि यस्तै हो ।
पार्टीको महामन्त्री भएको तथा संसदीय दलको निर्वाचनमा देउवासँग प्रतिस्पर्धा गरेको कारणले मात्रै होइन, सैद्धान्तिक-वैचारिक दृष्टिले पनि गगनले वैकल्पिक नेतृत्वको रूपमा प्रस्तुत गरेका छन् । त्यसैले गगनले प्रस्ताव गरेको सामाजिक लोकतन्त्र र समुन्नत नेपालको उद्देश्य, अवधारणा र एजेन्डाको बारेमा छलफल गर्नु सान्दर्भिक हुनेछ ।