भारतको जुनसुकै तरकारीलाई पनि नेपालमा स्वागत, नेपालीलाई भारतको ढोका बन्द
३१ असारमा बीबीसी हिन्दीले नेपालबाट भारतमा गोलभेंडाको तस्करी भइरहेकोबारे एक रिपोर्ट प्रकाशित गर्यो । सो रिपोर्टमा नेपालमा असीमित तरकारी उत्पादन हुने र त्यो तस्करी भएर भारतको बजार कब्जा गर्ने भाष्य स्थापित गर्न खोजिएको छ । तर, यथार्थ भने त्यसको ठ्याक्कै उल्टो छ ।
यथार्थमा नेपालले भारतबाट जति पनि र जस्तो पनि तरकारी आयात गरिरहेको छ । भारतीय तरकारी नेपाली बजारमा प्रवेश गर्न कुनै बाधा बन्देज छैन । सबैजस्तो मुख्य नाकामा क्वारेन्टाइन ल्याब छन्, त्यहाँ विषादी परीक्षण गरी तरकारी भित्रन्छ । धेरैजसो तरकारी त विषादी परीक्षणविनै यसै पनि भित्रिने गरेको छ ।
तर, नेपाली तरकारी तथा कृषिजन्य वस्तु भारत निर्यात गर्न त्यति सजिलो छैन । भारतले कुनै पनि भन्सार नाकामा प्लान्ट क्वारेन्टाइन ल्याब राखेको छैन । नेपाली वस्तुको ल्याब परीक्षण गर्नुपर्यो भने भारतको जुन राज्यमा निर्यात गर्ने हो, त्यही राज्यको राजधानीमा पुग्नुपर्छ । उदाहरणका लागि उत्तर प्रदेश निर्यात गर्ने हो भने लखनउको ल्याबमा परीक्षण गर्नुपर्छ, पश्चिम बंगालमा निर्यात गर्ने हो भने परीक्षण गर्नै कोलकाता पुग्नुपर्छ ।
नेपालको ल्याबले परीक्षण गरेर दिएको सर्टिफिकेटलाई भारतले मान्दैन । त्यसो हुँदा नेपालबाट भारतमा तरकारी, फलफूलजस्ता चाँडै नष्ट हुने वस्तु निर्यात गर्न एकदमै गाह्रो छ ।
अनि किन नेपाली तरकारीले भारतको बजार कब्जा गर्यो भन्ने प्रश्न उठ्छ त ? भन्ने प्रश्नमा एक व्यवसायी भन्छन्, ‘नेपालमा सीमित रुपमा उत्पादन हुने तरकारीले भारतको बजार कब्जा गर्ने प्रश्न नै उठ्दैन । भारतको नाकामा ल्याब परीक्षणको सुविधा नभएको र टाढाबाट परीक्षण गरेर ल्याउँदा चाँडै नष्ट हुने तरकारी कुहिसक्छ । त्यसो हुँदा नेपाल र भारतीय व्यापारीहरुले कहिलेकाहीँ अनौपचारिक माध्यमबाट भारतमा तरकारी पठाउँछन् । तर, नेपालमा उत्पादन नै कम हुने र लागत पनि महँगो पर्ने भएकाले ठूलो परिमाणमा तरकारी जान सम्भव नै छैन ।’