हेपाटाइटिसलाई सामान्य नठानौँ : ड्यामेज हुन सक्छ कलेजो
१२ साउन अर्थात् आज विश्व हेपाटाइटिस दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । प्रायःलाई हेपाटाइटिस एकैथरीको रोग हो भन्ने लाग्छ । तर, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन भाइरल हेपाटाइटिस ए, बी, सी, डी तथा ई गरी पाँचथरी हुने बताउँछन् ।
नेपालमा डी बाहेक अन्य चार थरिको हेपाटाइटिस देखिने गरेको छ । सबै भाइरल हेपाटाइटिस सर्ने तरिका फरक भए पनि लक्षण भने प्रायः एउटै हुने डा.पुन बताउँछन् ।
भाइरल हेपाटाइटिस ए र ई खाने कुरा र पानीमार्फत सर्छ । यहाँ बर्सेनि गर्मी र वर्षात् मौसममा ए र ई का बिरामी देखापर्ने उनको भनाइ छ ।
उनी भन्छन्, ‘यो हेपाटाइटिस सङ्क्रमण भएको खण्डमा यही औषधि खाने भन्ने त हुँदैन । तीन चार हप्ताको अवधिमा आफै निको भएर जाने गर्छ । यस बीचमा केही गरी कसै कसैको कलेजो बिग्रिने सम्भावना भने हुन्छ । तर, यस्तो केस ज्यादै न्यून हुन्छ ।’
सामान्यतया विकसित राष्ट्रमा भाइरल हेपाटाइटिस ए र इ एउटै खाले र एउटै समयमा देखिने उनको ठम्याइ छ । जस्तै भारत, बङ्गलादेश, पाकिस्तान, नेपालमा ए र ई देखिइरहने रोग हो ।
उनका अनुसार हेपाटाइटिस ई देखिएका सङ्क्रमित गर्भवतीमध्ये करिब २५ प्रतिशत महिला मृत्युको मुखमा पुग्न सक्न सक्छन् ।
जन्डिस सामान्यतया भाइरल हेपाटाइटिसका रूपमा लाग्ने गर्छ । जन्डिस हुनुका प्रमुख कारणमध्ये हेपाटाइटिस ए हो । ए र ई बर्सेनि मनसुनको सिजनमा देखिने रोग भन्दा पनि फरक नपर्ने डा पुनको भनाइ छ ।
ए र ई चार देखि छ सातामा निको हुने गर्छ । यस बीचमा लक्षणमा आधारित केही त्यस्तो समस्या भएमा चिकित्सकको सल्लाह तथा उपचार गर्न उनको सुझाव छ ।