स्थानीय बजार प्रवर्द्धन गर्न विराटनगरको रानी नाकामा कडाइ, व्यापारीमा उत्साह
लामो प्रयासपछि साउन १ गते (सोमबार)देखि रानी–जोगवनी नाकाबाट खुद्रा सामान ल्याउन कडाइ गरिएको छ । यसबाट विराटनगरका व्यापारी खुसी भएका छन् ।
विराटनगर महानगरपालिकाको समन्वयमा भन्सार कार्यालय, नेपाल प्रहरी र सशस्त्र प्रहरीले सीमा नाकामा कडाइ गरेका हुन् ।
उपभोग्य वस्तुहरु दाल, तेल, गेडागुडी, जिरा, धनियाँ, चिनी तथा किचनका सामान लिन नेपालबाट दैनिक सयौँ मानिस भारतीय बजार जोगवनी जाने गर्दथे । जोगवनी बजार धानिरहेका नेपाली उपभोक्ताहरु सोमबारदेखि भने कम जान थालेका छन् ।
भन्सार कार्यालयले जोगवनीबाट १ सय रुपैयाँ भन्दा बढीको सामान ल्याए भन्सार तिर्नुपर्ने नियम कार्यान्वयन गरेको छ ।
भन्सारले कानुनी व्यवस्था कार्यान्वयनमा कडाइ गरेकै कारण त्यहाँ खटिएका सशस्त्र प्रहरी बलको टोलीले एक सय रुपैयाँभन्दा बढीका सामान ल्याए अनिवार्य भन्सार तिराएरमात्र नेपाल ल्याउन दिने गरेको छ ।
स्थानीय बजार प्रवर्द्धन गर्न आवश्यक भएको भन्दै विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले अहिलेको कडाई निरन्तर हुने दाबी गरेका छन् । विगतमा दैनिक ६ देखि ७ करोड रुपैयाँसम्मको कारोबार हुने जोगवनी योसँगै सुनसान बनेको छ ।
भन्सार कार्यालयले किराना वस्तु ल्याउन रोक्नुका साथै लत्ता कपडामा २० प्रतिशत भन्सार र १३ प्रतिशत भ्याट जोडेर महशुल लिने गरेको छ । ‘विराटनगरको बजार सुक्दै जाने अनि छिमेकी राष्ट्र भारतको जोगबनी बजार फस्टाउँदै गएकाले यहाँका उद्योगी, व्यवसायी तथा साना व्यापारी व्यवसायीलाई पनि राम्रो होस् भनेर यो अभियान चालेको हो,’ महानगर प्रमुख कोइरालाले भने ।
महानगरको पहलमा भन्सारमा कडाइ गरेपछि स्थानीय व्यवसायीहरु उत्साहित भएका छन् । पछिल्लो कदमले स्वदेशी व्यापार व्यवसाय विस्तार हुने र बजार प्रवर्द्धन हुने विश्वास व्यवसायीहरुको छ ।