गत वर्ष ४ खर्बको आन्तरिक र बाह्य लगानी प्रतिबद्धता
गत आर्थिक वर्ष २०७९/८० मा उद्योग र जलविद्युत परियोजनामा करिब ४ खर्ब आन्तरिक र बाह्य लगानीको प्रतिबद्धता आएको छ । नेपालमा उद्योग दर्ता गर्ने दुई प्रमुख निकायहरु लगानी बोर्ड र उद्योग विभागमा दर्ता भएका उद्योगहरुमा यो परिमाणको लगानी आएको देखिएको हो ।
अघिल्लो आर्थिक वर्षमा आएको कुल लगानीको तुलनामा आव ०७९/८० मा १७ दशमलव २ प्रतिशतले लगानी प्रतिबद्धता घटेको छ । आर्थिक वर्ष ०७८/७९ मा ४ खर्ब ७७ अर्ब लगानी प्रतिबद्धता लगानी बोर्ड र उद्योग विभागमार्फत आएकोमा ०७९/८० मा ३ खर्ब ९५ अर्बको मात्रै प्राप्त भएको हो ।
विवरणअनुसार उद्योग विभागमार्फत हुने आन्तरिक र बाह्य लगानी प्रतिबद्धतामा ह्रास आएको छ भने लगानी बोर्डमार्फत भित्रिने ठूला लगानीको प्रतिबद्धतामा गत वर्ष भन्दा सुधार भएको छ ।