नागरिक उन्मुक्ति पार्टीभित्रको विवादले सुदूरपश्चिम सरकारलाई पूर्णता दिन सकस
नागरिक उन्मुक्ति पार्टीभित्रको विवादका कारण सुदूरपश्चिम प्रदेश सरकारले पूर्णता पाउन सकेको छैन । परिणामस्वरुप झण्डै ६ महिनादेखि प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय मन्त्रीविहीन छ ।
मुख्यमन्त्री कमलबहादुर शाह हाल काठमाडौंमा छन् । उनी प्रदेश सरकारलाई पूर्णता दिने सन्दर्भमा शीर्ष नेतासँग छलफल गर्न काठमाडौं गएको बताइएको छ । यद्यपि, नागरिक उन्मुक्ति पार्टीभित्रको विवादका कारण सरकार विस्तार पेचिलो बन्दै गएको छ ।
नागरिक उन्मुक्ति पार्टी यसअघि २ मन्त्री र १ राज्यमन्त्री पाएमात्रै प्रदेश सरकारमा जाने अडानमा थियो । पछिल्लो समय आफ्नो सो अडानबाट पछि हट्दै १ मन्त्री र १ राज्यमन्त्रीमै सरकारमा जान राजी भएको थियो । जसअनुसार साउन ९ गते सरकार जान रामेश्वर चौधरी र कैलाश चौधरीलाई सिफारिस गरिएको थियो । तर शपथ ग्रहणको तयारी भइरहेको समयमा अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले साउन ९ गते मुख्यमन्त्री शाहलाई पठाएको एक पत्रका कारण सरकार विस्तार रोकियो ।