मुलुकको भन्सार र सुरक्षा प्रणाली गिज्याउने सुन तस्करको ‘टोखा फ्याक्ट्री’
२ साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारको गेटमा बरामद गरिएको १०० किलो तस्करीको सुन र यसको कनेक्सन पछ्याउँदै जाँदा राजस्व अनुसन्धान विभाग सुन तस्करीको एकपछि अर्को जालो पहिल्याउन सफल भएको छ ।
सुन समातिएको दुई सातामा अनुसन्धानको अन्तिम घेरानजिक पुगेको दाबी गरिरहेको विभाग शनिबार टोखामा तस्करको कारखाना नै भेटिएपछि भने झस्किएको छ । टोखामा भेटिएको कारखानामा भेटिएका सामान हेर्दा कम्प्युटरको सीपीयूदेखि, पानी तान्ने मोटरसम्ममा सुन लुकाएर ल्याएको देखिन्छ । त्यति मात्रै होइन, ग्याँसको रेगुलेट र मःम बनाउने मेसिनमा पनि सुन लुकाएर ल्याएको टोखाबाट बरामद भएका सामग्रीहरुले स्पष्ट पार्छन् ।
ती सबै सामान विमानस्थलबाटै भन्सार पास भएर आएका छन् । तर, जे सामान हो, त्यो बाहिरबाट हेर्दा दुरुस्त देखिन्छ, भित्र भने खोक्रो छ । त्यस्ता सामान राखेको कार्टुनले ठूलो घरको आकारको गोदाम भरिएको छ । ती सामानभित्र सुन लुकाएर ल्याएको विश्वास राजस्व अनुसन्धान विभागले गरेको छ ।
हालसम्म सीमित स्रोत र जनशक्तिका भरमा अनुसन्धान अघि बढाइएको विभाग नेपालमा हुने सुन तस्करीमा सीमीत समूह मात्रै रहेको आंकलनमा आक्रामक भएको थियो ।
तर, टोखामा कारखाना नै भेटेपछि भने सुन तस्करीमा एउटा समूह मात्रै नभई राज्यको उच्च तहसम्म पहुँच भएको ठूलो तप्का नै लागि परेको र त्यसलाई तोड्न थप दक्ष जनशक्ति र प्रविधिमैत्री अनुसन्धान आवश्यकताको निचोडमा पुगेको छ ।
‘ठूलो मात्रामा सुन तस्करी गर्न यथेष्ट धनराशी, राज्यका निकायको व्यवस्थापन र उनीहरुको संरक्षणमा तस्करी रोक्ने संयन्त्र लागेको देखिएको छ,’ विभाग स्रोत भन्छ, ‘तर, अनुसन्धान अन्तिम घेराको नजिक छ ।’
सुन तस्करी अनुसन्धानमा खटिएका सुरक्षा अधिकारीहरुका अनुसार यसअघि विभिन्न ठाउँमा फेला परेका सुनका गोदाम र भण्डारण हेर्दा अनुसन्धान रेडी ट्रेडर्सले आयात गरेको वस्तुहरुमा मात्रै केन्द्रित थियो । तर, ठमेलबाट सुन तस्करका नाइके मानिएका दावा छिरिङ पक्रिएपछि र टोखाको फ्याक्ट्री भेटिएपछि भने यो सञ्जाल र तस्करीको परिमाण पनि सोचेभन्दा धेरै नै ठूलो भएको निष्कर्षमा विभाग पुगेको छ । अझ राजनीतिक र सुरक्षा संयन्त्रको संरक्षणविना यस्तो हुनै नसक्ने निष्कर्ष पनि विभागको छ ।
टोखाको फ्याक्ट्रीको बनोट, तस्करी भएर विमानस्थलबाट भित्रिएर आएको वस्तु र त्यसबाट सुन निकाल्ने कार्य हेर्दा केही वर्षदेखि हजारौं किलो सुन तस्करी भइरहेको र त्यसमा भन्सार तथा सुरक्षा प्रणालीको भरपुर दुरुपयोग भएको निष्कर्ष विभागको छ ।