आत्मनिर्भर बनौंला भनी लिएको लघुवित्तको ऋणले पुर्यायो सडकमा
कपिलवस्तुकी ४१ वर्षीया भगवती रूम्बा गिरी १४ दिनदेखि माइतीघर मण्डलमा बस्दै आएकी छन्। उनी साउन १ गतेदेखि त्यहाँ बस्न थालेकी हुन्। उनी चौबीसै घन्टा त्यहीँ बस्छिन्।
शिवराज नगरपालिकाकी भगवतीले ०७४ सालमा आत्मनिर्भर बन्ने सपना बुनेर परिवारकै सहमतिमा लघुवित्तबाट ऋण लिएकी थिइन्।
फरक-फरक लघुवित्तबाट उनले झन्डै १० लाख रुपैयाँ ऋण लिएकी छन्। बिनाधितो थोरै बचतमा लघुवित्तले ऋण दिने भएपछि परिवारको सहमतिमा ऋण लिएकी थिइन। आत्मनिर्भर बन्नभन्दा परिवारले जग्गा-जमिन जोड्न भनेपछि उनले त्यही गरिन्। थोरै लगानीमा बाख्रा पालन गरेर ७ लाख रुपैयाँमा उनले एक रोपनी जग्गा किनिन्।
उनले मासिक १५ हजार रुपैयाँ किस्ता तिर्नुपर्थ्यो। त्यसका लागि उनका श्रीमान नारायण गिरीले सहयोग गर्थे। उनका श्रीमान् सवारी चालक हुन्।
सरसापटी, मेलापात र श्रीमानले कमाएको पैसाले किस्ता तिरिरहेकी थिइन्। तर ०७८ मा सवारी दुर्घटनामा उनका श्रीमान घाइते भए र लामो समय काम गर्न सकेनन्। श्रीमानको कमाइ बन्द भएपछि भगवतीलाई किस्ता तिर्न हम्मेहम्मे पर्न थाल्यो।
किस्ता तिर्न गाह्रो हुँदै गएपछि उनले आफूले किनेको जग्गा धितो राखेर अर्को समूहबाट ऋण लिएर किस्ता तिर्दै गइन्। सधैँ जरिवानामा पर्दा उनको साँवा घटेन। लघुवित्तले तोकेको दिनभन्दा एक दिनमात्र पछि हुँदा जरिवाना तिर्नुपर्थ्यो।
किस्ता तिरिरहँदा साँवा नघटेपछि एक वर्षअघि उनले लघुवित्तको कार्यालयमै पुगेर आफ्नो खाताको विवरण जाँच गरिन्। त्यहाँ उनले २५ प्रतिशतभन्दा बढी ब्याज लिएको थाहा पाइन्। त्यसपछि उनले किस्ता तिरेकी छैनन्।
उनले १५ प्रतिशत ब्याजदरमा ऋण लिएकी हुन्।