काभा खेल्न जाने खेलाडीहरुलाई सदस्य सचिवको सन्देश : त्रुटि गर्ने छुट छैन्
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिव टंकलाल घिसिङले काभा पुरुष राष्ट्रिय भलिबल प्रतियोगितामा सहभागी हुने खेलाडीहरुलाई कुनै त्रुटि गर्ने छुट नभएको टिप्पणी गरेका छन् ।
किर्गिस्तानको राजधानी बिस्केकमा असार ३ देखि १० गते सम्म आयोजना हुने काभा मेन्स भलिबल नेसन्स लिगमा सहभागी हुन जाने नेपाली टोलीको विदाई गर्दै सदस्य सचिव घिसिङले खेलमा कुनै त्रुटि नगर्न आग्रह गरेका हुन् ।
उनले भने,‘ यो प्रतियोगिता खेलाडीहरुलाई अन्तर्राष्ट्रिय अनुभब बटुल्ने मौका हो ।यसमा अलिकति पनित्रुटि र हेलचेक्रयाई गर्ने छुट तपाईहरुलाई छैन् । जति राज्यले, संघले र नागरिकले तपाईहरुलाई अवसर दिईरहेको छ त्यति नै जिम्मेवारी पनि दिएको छ ।’
सदस्य सचिव घिसिङले खेलाडीहरुलाई एक पछि अर्को रेकर्ड बनाएर आउँन आग्रह गरे । राज्यले भलिबललाई पहिलो प्राथमिकता दिएको स्मरण पनि उनले गराए ।
नेपाली राष्ट्रिय भलिबल टोली भोलि शुक्रबार कीर्गिस्तानतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।