एमालेमा ७० वर्षे उमेर हद हट्दा क–कसलाई फाइदा ?
काठमाडौं । नेकपा एमालेले पार्टीको विधानबाट ७० वर्षे उमेर हद हटाएको छ । २८ बैशाख देखि ३० बैशाखसम्म भएको एमालेको केन्द्रीय समिति बैठकको प्रस्तावपछि गत १९ जेठमा बसेको सचिवालय बैठकले विधानमा रहेको ७० वर्षे उमेर हद हटाएको हो ।
उमेर हद हटाएको बिषयलाई अन्तर पार्टी निर्देशन(अपानि)मार्फत एमालेले मातहत रहेका सबै निकायमा सर्कुलर गरिसकेको छ । ७० वर्षे उमेर हद निलम्बन भएसँगै वर्तमान अध्यक्ष केपी शर्मा ओलीलाई अर्को महाधिवेशनमा पुनः अध्यक्ष बन्ने बाटो खुलेको छ । उनीसँगै एमाले बरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल, उपाध्यक्षहरु रामबहादुर थापा ‘बादल’, अष्टलक्ष्मी शाक्य र सुवासचन्द्र नेम्वाङलाई पनि अर्को महाधिवेशनमा उम्मेदवार बन्न बाटो खुलेको छ ।
एमाले अध्यक्ष ओली अहिले ७१ वर्षका छन् । त्यस्तै, बरिष्ठ उपाध्यक्ष पोखरेल ६९ वर्ष पुगे । उपाध्यक्षहरु थापा ६८ वर्ष, शाक्य ६९ र नेम्वाङ ७० वर्षका भए । ७० वर्षे उमेर हद म्याद कायम रहेको भए उनीहरु अर्को महाधिवेशनबाट बिदा हुने थिए ।
एमालेमा नवौं महाधिवेशनेखि ७० वर्षे उमेर हद कार्यान्वयनमा थियो । सोही उमेर हदका कारण त्यसबेला अमृत बोहरा लगायतका बरिष्ठ नेता पार्टीबाट बिदा भएका थिए । ७० वर्षे उमेर हद कार्यन्वन गर्न त्यसबेला वर्तमान अध्यक्ष ओली, सचिवहरु गोकर्ण बिष्ट र योगेश भट्टराईको महत्वपूर्ण भुमिका रहेको थियो । सोही उमेर हदका कारण ओली नवौं र दशौं महाधिवेशनमा अध्यक्ष बने । अहिले उनकै जोडबलमा ७० वर्षे उमेर हद हटाइएको छ ।