निजी तथा सरकारी अस्पतालमा देखिएको वेथिति एक साता भित्र हटाउँछु : स्वास्थ्य मन्त्री बस्नेत
स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले निजी तथा सार्वजनिक अस्पतालमा आम नागरिकले मापद्दण्ड अनुसार स्वास्थ्य सेवा नपाएको भन्दै अनुगमन गरेका छन् ।
निजी तथा सार्वजनिक अस्पतालमा आम नागरिकले मापद्दण्ड अनुसार स्वास्थ्य सेवा नपाएको तथा अस्पतालमा लापरवाही बढेको जनगुनासो आएपछि मन्त्री आफै अनुगमनमा खटिएका हुन् ।
मन्त्री बस्नेतले अनुगमनबाट देखेको विषयलाई पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेका छन् । उनले निजी तथा सरकारी अस्पतालमा देखिएको वेथिति र आर्थिक अनुशासनहिनताको कामलाई एक हप्ताभित्र समाधान गर्ने दृढता व्यक्त गरे ।
उनले प्रचार गर्ने शैलीभन्दा काम गर्ने शैलीमा जोड दिने सिद्धान्तको पक्षमा रहेको भन्दै स्वास्थ्य क्षेत्रलाई सुधार गर्न निर्देशन मात्र दिने नभइ देशव्यापी रुपमा अनुगमन पनि गर्दै जानुपर्ने बताए ।
उनले भने, अब हामीले अनुगमनको प्रक्रिया, जस्तै १० प्रतिशत विपन्न विरामीहरुलाई निशूल्क स्वास्थ्य सेवा दिने अस्पतालहरुले हस्ताक्षर गर्दा सम्झौता गरेको हुन्छ । त्यो गरेको छैन् भन्ने कुरा आएको छ । यस विषयमा काठमाडौंको मेयर पनि आउँनु भएको थियो, मैले यो हाम्रो कार्ययोजनाभित्र परेको छ, अचानक गएर समाउन हामी जान्छौ, हामीले एक हप्ताभित्रमा गरेको कामको नतिजा देखाउछौं । प्रचार गर्ने कामभन्दा काम गर्ने शैलीमा जोड दिनुपर्छ भनेर काम गर्नुपर्छ । स्वास्थ्य क्षेत्रलाई सुधार गर्न हामीले निर्देशन मात्र दिने होईन अनुगमन पनि देशव्यापी रुपमा गर्छौ ।
मन्त्री बस्नेतले अस्पतालमा वेथिति, आर्थिक अनुशासन हिनताको काम र स्वास्थ्य सामग्री खरिद गर्ने कुरामा जथाभावी भईरहेको गुनासोको आधारमा उक्त अभियान सुरु गरेको भन्दै अनुगमनबाट प्राप्त समस्याहरु समाधान गर्दै जाने बताए ।