कानून र संविधानसम्मत् कदम चालेका छौं : मिर्चैया मेयर यादव
काठमाडौं । मिर्चैया नगरपालिकाका मेयर श्रवणकुमार यादवले नगरपालिकाको कानूनी कदमलाई लिएर गलत प्रचार गरिएको टिप्पणी गरेका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा मेयर यादवले जनताको हकमा नगरपालिकाले गर्नुपर्ने कामहरुमा केही बाधा आएको बताए । उनले आफूहरुले चालेको पछिल्लो कदमलाई लिएर मिडियामा गलत कुरा आएको बताए ।
उनले भने ‘२५६ नम्बर ६० नम्बरको कित्ताको कुरा गर्दा त्यो सम्मानित अदालतले बोलेको कुरा हो। त्यसमा जनतालाई भ्रममा नपार्नुहोस, जनतासँग जुन चाहीँ साना÷साना टहराहरु हटाइएको छ । जुन प्रकारको ६० हजार जनसंख्या भएको नगरपालिकामा सबैलाई सेवा दिने हिसाबले अगाडि काम बढाएका छौं। त्यसमा दुःख दिने नियत नराख्नुहोस । ’
उनले अदालको निर्णय र विगतका जनप्रतिनिधिका निर्णयहरु देखाउँदै अदालतले नै स्पष्ट पारिदिएको भन्दै उनले सोही निर्णय कार्यान्वयन गर्न अगाडि बढेको बताए।
यसअघि स्थानीय व्यापारी र वडाबासीहरुको वर्षौदेखि बसोबास रहँदै आएको मिर्चैयाको २ (क) को २५६ नम्बर र २ (ख) को ६० नम्बर जग्गामा बनेका पक्की घरहरु र भवनमा डोजर चलाउन मेयर यादवले आदेश दिएको आरोप लगाएका थिए । उनीहरुले मेयर यादवले शक्तिको दुरुपयोग गरी गलत कदम चालेको र आफूहरुको उठिबास लगाएको आरोप लगाएका थिए ।
आफूसँग पराजित भएका केही व्यक्तिहरुले अहिले यो विषयमा अनावश्यक रुपमा उछालेर आन्दोलन नै गराएको उनको भनाइ छ ।