तीनवटै उपनिर्वाचन क्षेत्रमा मतदान शान्तिपूर्णरुपमा जारी, मतदाता उत्साहित
काठमाडौं । तनहुँ १, चितवन २ र बारा २ मा शान्तिपूर्णरुपमा मतदान भइरहेको छ । प्रतिनिधि सभाको उपनिर्वाचन क्रममा तीनवटै उपनिर्वाचन क्षेत्रमा विहान ७ बजेदेखि मतदान जारी छ ।
निर्वाचन आयोगले मतदान उत्साहपूर्वक भइरहेको जनाएको छ ।
प्रहरीले निर्वाचन शान्तिपूर्ण र उत्साहपूर्वक भइरहेको जनाएको छ ।
विहानैदेखि मतदाता मतदान केन्द्रमा पुगेका थिए । दिउँसो चर्को घाम लाग्ने भएकोले चितवन र बाराको कतिपय मतदान केन्द्रहरुमा मतदाता विहान पाँच बज्दै लाइनमा पुगिसकेका थिए । निर्वाचन आयोगका अनुसार चितवन–२ मा एक लाख २४ हजार ६९५ मतदाता छन् ।
यस्तै उपनिर्वाचनका लागि तनहुँ–१ मा १ लाख २३ हजार ३०५ मतदाता रहेका छन् । उता बारामा कुल एक लाख पाँच हजार दुई सय ४८ मतदाता रहेका छन् ।
गत मंसिर ४ गते भएको प्रतिनिधि सभा निर्वाचनमा तनहुँ क्षेत्र नं। १ बाट निर्वाचित नेपाली कांँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि र बारा २ बाट निर्वाचित जसपाका रामसहाय प्रसाद यादव उपराष्ट्रपति बनेपछि उपनिर्वाचन भएको हो ।
यसैगरी चितवन २ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेको नागरिकता सर्वोच्च अदालतले खारेज गरिदिएसँगै उनको सांसद पद गुमेकाले उपनिर्वाचन गरिएको हो ।
मतदान आज साँझ ५ बजेसम्म जारी रहने छ ।