सरकारको १०० दिनको उपलब्धि भ्रष्टाचार हो, आजको प्रधानमन्त्रीसँग देशलाई कहाँ लैजाने थाहा छैन
नेकपा एमालेका सांसद रघुजी पन्तले सरकारको १०० दिनको उपलब्धि भ्रष्टाचार र दिशाहीन भएको बताएका छन् ।
बिहीबार प्रतिनिधिसभाको बैठकको विशेष समयमा बोल्दै उनले भने, ‘सरकारको १०० दिनको उपलब्धि भ्रष्टाचार हो, दिशाहीनता हो, अन्योल हो, आजको प्रधानमन्त्रीसँग देशलाई कहाँ लैजाने थाहा छैन ।’
सरकारले १०० दिनको उपलब्धि भनेर ३७ बुँदा सार्वजनिक गरे पनि त्यसमा उल्लेखनीय केही पनि नभएको पन्तले बताए । ‘३७ बुँदा पढ्दा के पढेको भन्ने नै बुझिँदैन । यस्तो योजना तर्जुमा गरिएको छ, यस्तो निर्देशन दिइएको छ भन्ने जस्ता कुरा छन्’ उनले भने, ‘न किसानका समस्या छन्, न मुलुकको गम्भीर अवस्थाबारे भिजन छ न गरेको कामको उल्लेख छ ।’
१०० दिन पूरा हुँदासम्म मन्त्रिपरिषदले पूर्णता पाउन नसकेको भन्दै उनले अहिलेसम्मको उपलब्धि सिद्धान्तहीन र नीतिहीन भएको बताए ।