भलिबलको प्रगतिका लागि विशेष योगदान गर्छु
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालमा अहिलेसम्म भलिबल खेलको प्रगति हुन नसकेको बताएका छन् ।
मंगलबारदेखि सुरु भएको प्रथम पोष्टबहादुर बोगटी स्मृति कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले आफ्नो यो कार्यकालमा भलिबल खेलको क्षेत्रमा विशिष्ट योगदान गर्ने चाहना रहेको बताए ।
उनले भने ‘मैले आफ्नो दोस्रो कार्यकालमा भलिबललाई राष्ट्रिय खेलको रुपमा घोषणा गरेको थिए । यहाँ सम्म आउँदा केही प्रगति भएको छ तर जति प्रगति हुनुपर्ने हो त्यो भएको छैन् । मेरो यो तेस्रो कार्यकालमा भलिबललाई विशिष्ट रुपमा योगदान गर्ने मेरो ईच्चा छ ।’
पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठानको आयोजनामा र नेपाल भलिबल संघको प्राविधिक सहयोगमा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु भएको प्रतियोगिता आगामी बैशाख २ गतेसम्म सञ्चालन हुने छ ।
प्रतियोगितामा विभागीय टोलीहरु एपीएफ, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिसका साथै गण्डकी, लुम्बिनी र सुदूरपश्चिम टोलीको सहभागिता रहेको छ ।
६ टिमलाई दुई समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ ।
प्रतियोगिताको विजेताले ट्रफीसहित चार लाख नगद, उपविजेताले दुई लाख, तेस्रो हुने टिमले एक लाख तथा सान्त्वना पुरस्कार प्राप्त गर्ने टिमले ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने छन् । यसैगरी, विभिन्न ६ विधाका उत्कृष्ट खेलाडीलाई जनही दश हजार र प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडीलाई १५ हजार रुपैयाँ प्रदान गरिनेछ ।