राज्य कमजोर र व्यक्ति बलियो बन्ने प्रवृत्ति घातक
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले, राज्यलाई कमजोर बनाउने र आफूलाई बलियो देखाउने प्रवृत्ति देशका लागि घातक हुने चेतावनी दिएका छन् ।
काठमाडौंमा आज नेपाल दुरसञ्चार राष्ट्रिय कर्मचारी संगठनको ३३ औँ वार्षिकोत्सव कार्यक्रममा उनले भने ‘राज्यलाई कमजोर बनाउने र आफूलाई बलियो बनाउन खोज्ने राजनीतिक दल र नागरिकको व्यवहार देख्दा खेरि एक दृष्टिकोणले हेर्दा राष्ट्र निमार्ण प्रक्रियामा डिरेल नै हुन थालेका छौँ भनेर चिन्ता पनि लाग्ने गर्दछ ।’
एक अर्काबीचको संवाद र सहकार्यले नै कुनै पनि क्षेत्रको विकास समृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने भन्दै उनले नेपाल टेलिकम कर्मचारीलाई एकता र सामूहिकताका लागि आग्रह गरे । उनले भने ‘ नेपाल टेलिकम मेरो घर, संस्थाको विकास र समृद्धि मेरो भर नारा जुन बनाउनु भएको छ । त्यो तपाईँहरूको सङ्गठनात्मक जीवनसँग मेल खाने विषय हो भन्ने मलाई लाग्दछ । नेपाल टेलिकमका युनियनहरूको एक आपसमा संवाद गर्ने सहकार्य गर्ने र मिलेर काम गर्ने संस्कृति मैले पाएको थिए । वास्तवमा आफूले काम गरिरहेको संस्था बलियो हुँदाखेरी नै आफ्नो पनि हित हुन्छ भन्ने कुरालाई केन्द्र विन्दुमा राखेर सोच्नु पर्दछ भन्ने लाग्दछ ।’
उनले पछिल्लो समय आफ्नै संस्थालाई व्यक्तिगत स्वार्थका लागि प्रयोग गर्ने क्रम चलेको भन्दै चिन्ता व्यक्त गरे ।