धनकुटाको शहीद उद्यान २३ वर्षमा पनि बनेन
निर्माण सुरु भएको २३ वर्ष पुग्दा पनि धनकुटाको शहीदभूमि गाउँपालिकाको शहीद उद्यान निर्माण समपन्न हुन सकेको छैन ।
वि.सं. २०६६ देखि तत्कालीन शान्ति मन्त्रालयको १ करोड लागतमा २०३६ सालको छिन्ताङ हत्याकाण्डमा सहादत प्राप्त गर्ने १६ शहीदको सम्झनामा उक्त उद्यान निर्माण थालिएको हो । शहीदभूमि–२ र ३ को पातलडाँडामा क्रमागत योजनाअन्तर्गत निर्माण सुरु गरिएको उक्त उद्यानको बाँकी काम पूरा नहुँदा निर्माण गरिएका संरचनासमेत जीर्ण बन्दै गएका छन् ।
हालसम्म संघ र प्रदेश सरकारको क्रमागत योजनाअन्तर्गत २ करोड ८ लाख खर्च गरेर १२ किलोमिटर सडक, शहीद स्तम्भ तथा विभिन्न संरचना निर्माण गरिएका छन् । बजेट अभावका कारण उद्यानको काम पूरा हुन नसकेको उपभोक्ता समितिका अध्यक्ष रुपलाल राईले जानकारी दिए ।
उद्यान निर्माणका लागि २०६६ मा १ करोड, २०७४ मा ३८ लाख, २०७५ मा ४० लाख संघीय सरकार र त्यसपछि २०७६ मा २० लाख, २०७७ र २०७८ मा कोशी प्रदेश सरकारको १०/१० लाख खर्च भएको थियो । चालु आर्थिक वर्षमा बजेट नहुँदा समस्या भएको अध्यक्ष राईले बताए ।
उद्यान निर्माणको काम पूरा गर्नका लागि प्रदेश सरकारले विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) तयार पारेर लगेकाले अब बाँकी काम चाँडै पूरा हुने गाउँपालिका अध्यक्ष मनोज राईको भनाइ छ ।