सवारी दुर्घटनामा परेर घाइते भएकाहरुलाई सरकारले निशुल्क उपचारको व्यवस्था मिलाओस्
नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सवारी दुर्घटनामा परी घाइते भएकाहरुलाई निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले ओखलढुंगाका २ वटा सवारी साधन दुर्घटनामा परी ८ जनाको ज्यान गएको र घाइते भएकाहरुको खर्चको अभावमा उपचार गर्न कठिनाई भइरहेको दृष्टान्त पेस गर्दै सरकारसँग सो माग गरेका हुन् ।
सांसद खतिवडाले सबै बसहरुमा यात्रुहरुका लागि स्वास्थ्य विमाको व्यवस्था गर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराए । उनले भने, ‘सवारी दुर्घटनामा परेर घाइते भएकाहरुलाई सरकारले निशुल्क उपचारको व्यवस्था मिलाओस् भनेर म माग गर्न चाहन्छु । ओलखढुंगामा जीप र बस दुर्घटनामा परी घाइते भएकाहरुको उपचार गर्न सक्ने अवस्था भएन । बसको विमाको व्यवस्था नभएकाले पनि उपचार खर्चको अभाव छ । त्यसैले बसका यात्रुहरुलाई विमाको व्यवस्था गरेर सम्पूर्ण उपचार गर्ने व्यवस्था सरकारले गरोस् भनेर आग्रह गर्न चाहन्छु ।’