भारतको दिल्लीमा जबर्जस्ती देहव्यापारमा लगाइएका १० नेपाली चेलीहरुलाई गरियो उद्धार
मानव तस्करको सिकार भई जबर्जस्ती देहव्यापारमा लगाइएका १० नेपाली महिलाहरूको भारतबाट उद्धार गरिएको छ ।
बिहीबार भारतको राजधानी दिल्लीको किसनगढ क्षेत्रमा फ्ल्याटमा राखेर यौन धन्धामा लगाइएका नेपालका विभिन्न जिल्लाका १० जना किशोरी तथा महिलाहरूलाई उद्धार गरिएको हो । उनीहरूलाई नेपाल प्रहरी, मानव बेचबिखनविरुद्धको अनुसन्धान ब्युरो, नेपाली दूतावास, कीन इण्डिया, शक्ति समूह र दिल्ली पुलिसको संयुक्त कारबाहीमा उद्धार गरिएको हो ।
मिसन फ्ल्याट नामक अभियान चलाएर फ्ल्याटमा राखेर यौन धन्धामा लगाइएका १० जना महिलाहरूलाई उद्धार गरी मानव बेचबिखनविरुद्धको अनुसन्धान ब्युरोलाई बुझाइएको हो । उद्धार गरिएका महिलाहरूको उमेर १५, १६, १७, १८, २० र २५ वर्ष छ । उनीहरू नुवाकोट, काठमाडौं, कास्की, खोटाङलगायत जिल्लाका रहेको बताइएको छ ।
उद्धार गरिएकामध्येकी एक महिलाले आफूलाई राम्रो जागिर छ भन्दै दिल्ली पुर्याइएको र त्यहाँ पुगेपछि जबर्जस्ती यौन धन्धामा लाग्नुपर्ने भनिएको बताइन् ।
मिसन फ्ल्याटका बारेमा बताउँदै नेपाली दूतावासमा खटिएका एसएसपी उमाकान्त चतुर्वेदीले पोखराबाट ४ जना युवती हराएको भन्ने रिपोर्ट जिल्ला प्रहरी कार्यालय, प्रहरी प्रधान कार्यालय, मानव बेचबिखन अनुसन्धान ब्युरो र प्रहरी महानिरीक्षकको सचिवालयहुँदै दिल्ली दूतावासमा आफूलाई प्राप्त भएपछि खोजीका लागि शक्ति समूह, कीन इण्डिया र स्थानीय प्रहरीसँग समन्वय गरिएको जानकारी दिए । शक्ति समूहले हराएका चारमध्ये एक युवतीलाई फेला पारेको र ती युवतीले हराएका बाँकी तीन जना रहेको स्थानको ठेगाना बताउँदा संयुक्त रूपमा गरिएको कारबाहीमा हराएका दुई जनासहित थप सात जना नेपालीहरू फ्ल्याटबाट फेला परेको उनको भनाइ छ ।