कक्षा ५ सम्मका पाठ्यपुस्तक छाप्न १३ निजी छापाखाना परे छनौटमा
पाठ्यक्रम विकास केन्द्रले कक्षा १–५ सम्मका पाठ्यपुस्तक छपाई तथा बिक्री वितरण गर्नका लागि १३ वटा निजी छापाखाना छनौट गरेको छ ।
शैक्षिक सत्र २०८० का लागि कक्षा १ देखि ५ सम्मका चार रङका पाठ्यपुस्तक र अन्य पाठ्यसामग्री छपाई गरी बिक्री वितरण गर्नका लागि १३ वटा फर्मरसंस्थाहरू छनोट गरेको हो । उनीहरूलाई केन्द्रले पाठ्यक्रम तथा पाठ्यसामग्री विकास तथा वितरण निर्देशिका, २०७९ बमोजिम २०८० का लागि कक्षा ५ सम्मका पाठ्यपुस्तक छपाइको जिम्मा दिएको हो ।
आवेदन दिएका छापाखानाहरूमध्ये केन्द्रका महानिर्देशकको निर्णय अनुसार छनोट गरिएको हो । त्यसका लागि ७ माघमा १५ दिने सूचना जारी गरेको थियो ।
छनौटमा परेका फर्म/संस्थाहरूलाई सात दिनभित्रमा धरौटी र राजश्व जम्मा गरेर छपाइको अनुमति लिन केन्द्रले अनुरोध गरेको छ । नवीकरण फर्म/संस्थाले विगत वर्षमा जम्मा गरेको अद्यावधिक धरौटी भौचरको प्रमाणित प्रतिलिपि समेत केन्द्रमा पेस गर्नुपर्नेछ ।