नयाँ गठबन्धन बनेसँगै मन्त्री बन्न दौडधुप
पुस १० मा बनेको सत्ता गठबन्धन भत्किएर नयाँ गठबन्धन बनेसँगै माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री ‘प्रचण्ड’ नेतृत्वको सरकारमा मन्त्री बन्न गठबन्धन दलका नेताहरु दौडधुपमा लागेका छन् । यस्तो दौडमा कांग्रेस, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी लगायत दलका नेताहरु लागि परेका छन् । मन्त्रीका आकांक्षीहरु शीर्ष नेताहरुलाई भेटेर आफ्नो पक्षमा माहोल बनाउने प्रयासमा लागेका छन् ।
नेकपा एमालेले सोमबार सरकार छाडेसँगै १६ वटा मन्त्रालय मन्त्रिविहीन बनेका छन् । एमालेअघि राप्रपा र रास्वपाले पनि सरकार छोडिसकेका छन् । आफु नेतृत्वको सरकार गठन हुँदा समर्थन गरेका दलहरुले सरकार छोडेपछि प्रधानमन्त्री प्रचण्डले नयाँ दलहरुलाई समेटेर मन्त्रिमण्डललाई पूर्णता दिने र विश्वासको मत लिने तयारी गरेका छन् ।