कलंकी–महाराजगञ्ज सडक विस्तारको काम चाँडै सुरु हुन्छ
उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले कलंकी–महाराजगञ्ज सडक खण्डको स्थलगत निरीक्षण गरेका छन् । बिहीवार मन्त्री श्रेष्ठसहित नेपालका लागि चिनियाँ राजदूत छन सङ, काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसहितको टोलीले सडकखण्डको निरीक्षण एवं अवलोकन गरेको हो । अवलोकनपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री श्रेष्ठले दोस्रो खण्डको चक्रपथ बिस्तार अब चाँडै शुरु हुने सहमति भएकाले बताए ।
उनले कलंकीदेखि कोटेश्वरसम्मको काम सम्पन्न भइसकेको र कलंकीदेखि महाराजगञ्जसम्मको सडक पनि अब चाँडै काम शुरु गर्ने सहमति चीन सरकारसँग भएको बताए । मन्त्री श्रेष्ठले चिनियाँ राजदूत छन सङसँग मन्त्रालयमा छलफल गरी छटोभन्दा छिटो काम अघि बढाउने सहमति भएको बताए । उनले सो सडकखण्डमा भएका समस्याहरुको समाधान भइसकेको र अब निर्वाध रुपमा सडक बिस्तार गर्ने काम शुरु हुने प्रतिवद्धता जनाए ।