आज बस्ने भनिएको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक अनिश्चित
आज बस्ने भनिएको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक अनिश्चित भएको छ ।
बिहीबार १० बजेसम्म पनि संयन्त्रको बैठक बस्ने नबस्ने कुनै ठेगान नभएको प्रधानमन्त्री प्रचण्डको निजी सचिवालयले जनाएको छ ।
बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष समेत रहेका उच्चस्तरीय संयन्त्रका संयोजक केपी शर्मा ओलीबीच भएको भेटवार्तामा बिहीबार संयन्त्रको बैठक बसेर पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्ने सहमति भएको थियो ।
रास्वपाले पाएका मन्त्रालयको जिम्मा अन्य पार्टीका नेताहरूलाई दिने या नदिने भन्ने पनि संयन्त्रमा छलफल गर्न बाँकी छ । प्रधानमन्त्रीले जसपाका भागमा परेकासहित ५ वटा मन्त्रालय आफै मातहत राखेका छन् ।
अर्कोतिर राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनका सम्बन्धमा पनि सत्ता साझेदार दलहरुबीच एकरूपता छैन । राष्ट्रपतिका सन्दर्भमा एमाले र माओवादीका फरक फरक विचारले गठबन्धनकै भविष्यमाथि प्रश्न उठ्न थालिसकेको छ ।
प्रधानमन्त्री प्रचण्ड राष्ट्रिय सहमतिमा राष्ट्रपति चयन गर्नुपर्छ भन्ने पक्षमा छन् भने एमाले अध्यक्ष केपी शर्मा ओली एमाले उम्मेदवारबाहेक अन्यको हकमा राष्ट्रिय सहमति सम्भव नहुने बताउँदै आएका छन् ।