पाकिस्तानबाट ४८५ अफगान कैदी रिहा, मातृभूमि फर्किए
काबुल — पाकिस्तानमा कैद जीवन बिताइरहेका ४८५ जना अफगान नागरिक रिहा भएर आफ्नो मातृभूमि फर्किएका छन्। अफगानिस्तानका मिडियाले बिहीबार यो जानकारी दिएका हुन्।
अवैध रूपमा बसोबास गरेको र आवासीय अनुमति नभएको आरोपमा उनीहरूलाई पक्राउ गरी जेल चलान गरिएको थियो। रिहाइपछि उनीहरू सीमा क्षेत्रमै आवश्यक सहयोग प्राप्त गर्दै आ–आफ्ना प्रान्ततर्फ पठाइएको बताइएको छ।
यसअघि पनि पाकिस्तानले जेलबाट रिहा गरेका ७६३ जना अफगान कैदीहरू एकै साताको अवधिमा अफगानिस्तान फर्किएका थिए।
दुई देशबीच आप्रवासन तथा सीमा व्यवस्थापनका विषयमा जारी समन्वयबीच ठूलो संख्यामा कैदीहरू स्वदेश फर्किएको बताइएको छ।