आज महाशिवरात्री पर्व
आज महाशिवरात्री पर्व परेको छ । प्रत्येक वर्ष फागुन कृष्णपक्ष चतुर्दशीका दिनमा शिवरात्रि पर्व मनाइन्छ।

महाशिवरात्रि अथवा शिवरात्री हिन्दुहरूको प्रमुख चाड हो। यो भगवान शिवको प्रमुख पर्व हो। भगवान शिवको उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रि मध्ये एक पवित्र पर्वका रूपमा पुराणहरूमा वर्णित छ। यस पर्वलाई सम्पूर्ण दीन दुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीहरूको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइने गरिन्छ। व्रत उत्सव मध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रिका दिन भक्तजनहरूले शुद्ध भई शिव मन्दिरमा पूजा-अर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्दछन्।

आज काठमाडौको पशुपतिनाथ लगायत विभिन्न शिव मन्दिरमा शिव भक्तहरुको घुइँचो लागेको छ। हिन्दू धर्मका सबै धार्मिक ग्रन्थहरूमा भगवान शिवलाई पशुपतिनाथ भनिएको छ । महाभारतमा भगवान शिवको अस्त्रलाई पाशुपतास्त्र भनेर बर्णन गरिएको छ । महाभारतका पात्र अर्जुनले हिमालय पर्वतमा किराँतरुपी शिवलाई युद्ध गरेर खुसी बनाएकाले पाशुपतास्त्र दिएका थिए ।
पौराणिक कथानुशार महाभारतको युद्वपछी पाण्डवहरूले भगवान कृष्ण र भिष्मसँग युद्वमा आफन्तहरू मृत्य गरेकाले गोत्रहत्याको पापबाट मुक्त हुनको लागी के उपाय गर्नु पर्ला भनेर सोधेका थिए । भगवान शिवको दर्शन गरेपछी गोत्रहत्याको पापबाट मुक्त हुन्छ भन्ने कुरा थाह पाएपछी पाण्डवहरू शिवजीको दर्शन गर्ने हिमालयमा गए ।

पाण्डवहरू आएको देखेर भगवान शिव साढे (कुनै पौराणिक कथाहरुमा भैंसी उल्लेख गरिएको छ) को रुप लगेर गाईगोरुको बथानमा लुकेका थिए । पाण्डवहरूले साढेरुपी भगवान शिवलाई चिनेर दर्शन गर्न नजिकै जाँदा साढेरुपी शिव जमिन भित्र धासिएका थिए । यसरी शिवजी जमिनमा धासिएपछी साढेरुपी शिवको पुछर पाण्डवले स्पर्श गर्दा केदारनाथमा केदारनाथ भगवान प्रकट भए भने साढेरुपी शिवको शिर नेपालमा पशुपतिनाथ भगवान प्रकट भएका थिए।
यसरी नेपालको बागमती किनारमा उत्पत्ति भएको पौराणिक कथाहरुमा उल्लेख गरिएको पाइन्छ।
साढेको शिरबाट उत्पती भएकोले नेपालमा रहेका पशुपतिनाथलाई मुख्य मानिने गरिन्छ भने पुच्छरबाट उत्पती भएको भारतको केदारनाथलाई नेपालको पशुपतिनाथ भन्दा कम महत्त्व दिने गरेको पाइन्छ।
यसरी पाण्डवहरुले साढेको पुच्छर मात्र स्पर्श गरेर पनि गोत्रहत्याको सम्पुर्ण पापबाट मुक्त पाए।
यसै पाप मुक्त हुने जनआश्थाले गर्दा मृत्युअघि एकचोटि पशुपतिको दर्शन गर्ने धेरैको इच्छा रहेको पाइन्छ भने दर्शन गर्न नसके पशुपतिनाथ र शिवको नाम मात्र उच्चारण गर्दा पनि पापबाट छुटकारा पाइने आश्था रहेको छ।
|
ReplyForward |