प्रहरीको सुरक्षा घेरा भित्रैबाट सिरहामा लुटियो ९ लाख रुपैयाँ
सिरहामा प्रहरीको सुरक्षामा मनि ट्रान्सफरका लागि लगिँदै गरेको ९ लाख रुपैयाँ दिनदहाडै लुटिएको छ । मिर्चैया– कल्याणपुर सडक खण्डमा पार्ने कटहा पुल नजिकैबाट लुटेराले ९ लाख रुपैयाँ लिएर फरार भएका हुन् । लुटेरालाई खोज्न अहिले जिल्लाका हरेक सडक र नाकामा प्रहरी परिचालन गरिएको छ । प्रहरीको सुरक्षामा ज.६ प.४२५६ नम्बरको मोटरसाइकलमा राजाराम सव मनि ट्रान्सफर कल्याणपुरका कर्मचारीले मिर्चैयाबाट ९ लाख रुपैयाँ लैजाने क्रममा लुटेरा फरार भएका छन् ।
मोटरसाइकलमा आएका लुटेराले रकमसहित प्रहरीको हतियार समेत लुटेको स्रोतले जनाएको छ । सिरहाका प्रहरी प्रवक्ता डिएसपी नरेशराज पाण्डेले रकम लुटेको पुष्टि गरे । उनले थप विवरणका आउन बाँकी रहेको बताए ।