चित्रबहादुरले गरे रवि लामिछानेलाई गृहमन्त्री नदिने प्रचण्डको अडानलाई प्रशंसा
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई गृहमन्त्री नबनाउने भन्दै प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले दिएको अडानलाई राष्ट्रिय जनमोर्चाले प्रशंशा गरेको छ । अध्यक्ष चित्रबहदुर केसी नेतृत्वको प्रतिनिधिमण्डलले शुक्रबार बिहान प्रचण्डलाई १३ बुँदे ज्ञापनपत्र बुझाउँदै यसबारेमा प्रचण्डले राखको अडानको जनमोर्चाले प्रशंशा गरेको हो ।
‘....पुनः गृहमन्त्रालयको जिम्मेवारी दिन तपाईको सरकारमाथि दवाव परिरहेको छ । त्यसका बाबजुद त्यसप्रकार अवाञ्छित व्यक्तिलाई गृहमन्त्रीको जस्तो संवेदनशील जिम्मेवारी नदिन तपाईले देखाएको अडानको पनि हाम्रो दलले प्रशंसा गर्दछ र त्यसका लागि तपाईँ र तपाईँको सरकारलाई धन्यवाद दिन चाहन्छौँ’, केसीसहितको प्रतिनिधि मण्डलको हस्ताक्षरित ज्ञापनपत्रमा भनिएको छ ।
ज्ञापनत्रमा नेपाल–भारतबीचको सीमा समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराइएको छ भने एमसीसी खारेजीको पनि माग गरिएको छ । यसैगरी राष्ट्रिहित विपरीतका प्रावधानलाई समेटेर नागरिकता कानुन संसदमा पेश नगर्न, संघीयता खारेज गर्न, बढ्दो महङ्गी, बेरोजगारी, भ्रष्टाचार, कालोबजारी नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराइएको छ ।