उच्च प्रहरी अधिकृतका व्यक्तिगत विवरणसम्बन्धी कागजात बाहिरिएपछि छानबिन सुरू
उच्च प्रहरी अधिकृतका व्यक्तिगत विवरणसम्बन्धी कागजात बाहिरिएपछि प्रहरी प्रधान कार्यालय नक्सालले छानबिन सुरू गरेको छ।
गोप्य कागजात बाहिर आएको भन्दै प्रधान कार्यालय नक्सालले छानबिन सुरू गरेको हो।
उमेर विवादका कारण डिआइजी अशोक सिंहले बुधबार राजीनामा बुझाएका थिए। उनीलगायत उच्च अधिकृतको उमेर र रोलक्रम सहितको कागजात बाहिर आएको भन्दै कार्यालयले छानबिन थालेको हो।
प्रहरी प्रवक्ता डिआइजी पोषराज पोखरेलले गोप्य कागजात बाहिर आएकाले छानबिन गरिएको बताए।
‘गोप्य कागजात बाहिर आएपछि छानबिन हुनु स्वभाविक हो। गोपनियता भंग गर्नेलाई कारबाही हुन्छ। गोप्य कुरा हामीले तालुक कार्यालयलाई पनि दिँदैनौं। अदालतलाई मात्रै दिने हो,’ उनले भने।
कर्मचारी प्रशासन शाखाबाट उक्त कागजात बाहिरिएको भन्दै त्यहाँका प्रहरीमाथि छानबिन गरिएको हो।
यही क्रममा हवल्दार दीपक बिष्टलाई उक्त शाखाबाट हटाएर एक नम्बर गणमा राखेर छानबिन सुरू गरेको स्रोतले जनाएको छ।
डिआइजी सिंहको उमेर विवादका कारण अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो। उजुरी परेपछि उनले राजीनामा दिएका हुन्।
सिंह २०५१ चैत ५ गते प्रहरी निरीक्षक पदमा नियुक्त भएका थिए।
२०४२ साल जेठ २२ गते नागरिकता प्रमाण पत्रमा उनको उमेर १८ वर्ष छ। तर उनको शैक्षिक प्रमाण पत्रमा जन्म मिति १६ पुस २०२५ उल्लेख छ।
उनले उमेर सच्याएर प्रहरीमा भर्ना लिएको भन्दै अख्तियारमा उजुरी परेको हो।
प्रहरीको नियमावलीअनुसार सेवामा प्रवेश गर्दा पेश गरेको नागरिकताको प्रमाणपत्र, शैक्षिक योग्यताको प्रमाणपत्र र वैयक्तिक विवरण (सिटरोल)मा जन्ममिति वर्ष, महिना र गते समेत खुलेको र सबैमा एउटै मिति नरहेको भएमा छिटो अवकाश हुने मिति नै कायम रहने उल्लेख छ।
प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) वा प्रहरी उपरीक्षक (एसपी)को उमेरहद ५५ वर्ष छ। तर गत असारमा डिआइजीमा बढुवा हुँदा नै उनी ५५ वर्ष पुगिसकेका थिए।
उनीसहित १७ जना गत असार ८ गते एसएसपीबाट डिआइजीमा बढुवा भएका थिए। उनी बढुवा हुनुअघि नै उमेर हद पुगिसकेको थियो।
अहिले रिक्त रहेको ५ एआइजीको बढुवाको लागि प्रतिस्पर्धीसमेत रहेका उनले राजीनामा दिएका हुन्। उनी सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख थिए।