३० करोड मूल्य बराबरको सुन्तला पर्वतबाट निर्यात
जिल्लाको मुख्य निर्यातजन्य वस्तुको रुपमा रहेको सुन्तला उत्पादन यस वर्ष वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षका तुलनामा चालु आर्थिक वर्षमा झण्डै २५ प्रतिशतले उत्पादन बृद्धि भएको हो ।
कृषि ज्ञान केन्द्रका अनुसार यस वर्ष सुन्तला खेती गर्ने क्षेत्रफल र उत्पादन दुवै वृद्धि भएको छ । यस वर्ष जिल्लामा पाँच हजार मेट्रिक टन सुन्तला उत्पादन भएको छ । सोमध्ये चार हजार दुई सय ५० मेट्रिक टन सुन्तला निर्यात भएको ज्ञान केन्द्रले जनाएको छ ।
निर्यात भएका चार हजार दुई सय ५० मेट्रिक टन सुन्तलाबाट जिल्लामा रु २९ करोड ७५ लाख आम्दानी भएको वरिष्ठ कृषि विकास अधिकृत मनिता थापाले जानकारी दिइन् । पर्वतबाट औषतमा रु ७० को दरले सुन्तला निर्यात भएका छन् । यहाँ उत्पादित सुन्तला पोखरा, काठमाडौँ, नारायणगढ र बुटवलसम्म पुगेको थापाले बताइन्।