मधेस जनक्रान्तिको देनकै कारण नेपालमा संघीयता आएको हो : मन्त्री यादव
अन्तरिम संविधानको विद्रोहस्वरुप भएको मधेस जनक्रान्तिको देनकै कारण नेपालमा संघीयता आएको मधेस प्रदेशका मन्त्री संजय यादवले बताएका छन् ।
बलिदानी दिवसको अवसरमा जनकपुरधाममा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले शासक वर्गविरुद्ध गरिएको जनविद्रोहको क्रममा लहानमा पहिलो सहादत प्राप्त गरेका सहिद रमेश महतोको सम्झनामा बलिदानी दिवस मनाउन थालिएको बताए ।
मधेस जनविद्रोह र उपेन्द्र यादवको नेतृत्वमा मुलुकमा यति ठुलो परिवर्तन आएको बताउँदै उनले अहिले भएको परिवर्तनले नै सहिदको सपना साकार हुने बाटो निर्माण गरेको बताए । अहिले मधेसले आफ्नो पहिचान, आफ्नो शासन र आफ्नो प्रशासन लगायतका करिब सबै अधिकार पाएको र त्यो सबै संघीयताको देन रहेको उनको भनाइ थियो ।
‘सहिदको सपना पनि यही थियो,’ उनले भने, ‘त्यसैले आजको यो दिनलाई सहिदको सपना साकार भएको स्वरुपमा पनि बलिदानी दिवसको रुपमा मनाउन थालिएको हो ।’ मन्त्री यादवले शताब्दीदेखिको एकीकृत शासन व्यवस्थालाई अन्त्य गर्दै मधेसले जनविद्रोह र सहिदहरुको सहादतबाट अधिकार प्राप्त गरेको बताए ।
मन्त्री यादवले सिरहाको लहानमा मधेसको वीर सहिद तथा मधेस जनविद्रोहको स्मरणमा देशकै सबैभन्दा ठुलो संग्रहालयका रुपमा मधेस सहिद संग्रहालय स्थापना गर्न लागिएको बताए । करिब ५ बिगाहा जग्गामा सो संग्रहालय स्थापना हुने उनको भनाइ छ ।
विगतमा प्रदेश सरकारले सहिद परिवारका लागि घोषणा गरेको ‘एक सहिद परिवार, एक रोजगार’बाट अधिकांश सहिद परिवारमा एक–एक जनाले रोजगारी पाएको भन्दै उनले सो अधिकार पाउनबाट बञ्चित रहेकालाई पनि आउने दिनमा रोजगारीको ग्यारेन्टी गर्ने प्रतिबद्धता व्यक्त गरे ।
बलिदानी दिवसकै अवसरमा मन्त्री यादवले मधेस प्रदेश सरकारले ६३ जना सहिद परिवारलाई जनही २ लाख नगद, ब्ल्याङ्केट र दोसल्ला ओढाई सम्मान गरे । यस्तै मधेस विद्रोहका क्रममा घाइते ८१ जनालाई २५ हजारदेखि २ लाख रुपैयाँसम्म आर्थिक सहयोग र सम्मान गरिएको छ ।