आफू दौरा सुरुवाल विरोधी नभएको प्रचण्डको स्पष्टीकरण
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू कहिल्यै दौरा सुरुवाल विरोधी नभएको स्पष्टीकरण दिएका छन् ।
तर आफू जुन राजनीतिक प्रक्रियाबाट आएँ, त्यसमा अरु नै सहज भएको र त्यही लगाएको बताए ।
प्रधानमन्त्री प्रचण्डले ११ पुसमा शपथ लिने क्रममा दौरा सुरुवात लगाएका थिए । मंगलबार विश्वासको मत लिने दिन पनि उनी दौरा सुरुवाल लगाएर संसदमा गएका थिए ।
विश्वासको मत दिन आफूले राखेको प्रस्तावमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा प्रचण्डले दौरा सुरुवाल लगाउनुको कारण पनि खुलाए ।
शान्तिपूर्ण राजनीतिमा आएपछि पार्टीका नेताहरु मन्त्री हुँदा जे रुची लाग्छ, त्यही लगाउनुस् भन्ने गरेको र आफूलाई पनि उपयुक्त समयमा दौरा सुरुवाल लगाउँछु भन्ने लागेको उनले सुनाए । प्रचण्डले अघि भने, प्रतिस्पर्धाको शान्तिपूर्ण राजनीतिमा आएपछि आम जनताको भावनालाई सम्बोधन गर्न सकिएन भने क्रान्तिकारिताको प्रदर्शनले निर्वाचनमा परिणाम राम्रो पनि देखिनँ मैले ।’
उनले यसो भन्दै गर्दा संसद बैठकमा हाँसो छायो ।
त्यसपछि प्रचण्डले पनि हाँस्दै भने, ‘लगाउने जतिले जितेका छन्, नलगाउनेले हारेका छन् भनेपछि त …’
प्रधानमन्त्री प्रचण्डले दौरा सुरुवाल लगाउने निर्णयमा पनि कसरी पुगे भनेर सुनाए । उनका अनुसार प्रधानमन्त्री हुँदै गर्दा राष्ट्रपतिले दौरा सुरुवालमा हेर्न मन छ भनेकी थिइन् । एमाले अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेका साथै आफ्नै पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले दौरा सुरुवा लगाउनुपर्छ भनेपछि आफूले विचार गरौंला भनेको उनले सुनाए ।
दौरा सुरुवात लगाउन सक्ने विषय सञ्चारमाध्यममा आएपछि मानिसहरुको प्रतिक्रिया पनि हेरेको भन्दै प्रचण्डले भने, ‘नेगेटिभ कमेन्ट एउटै देखिन, पोजेटिभ मात्र देखेपछि अब मैले यो निर्णय लिनै पर्ने भयो । जन अभिमत अनुसार पनि लगाएको मात्र हुँ ।’
दौरा सुरुवात लगाउने बानी पार्न प्रयास भइरहेको भन्दै उनले अप्ठ्यारो पर्ने गरी बढी चर्चा नगरिदिन समेत आग्रह गरेका छन् ।