पत्रकार पौडेलको स्मृतिमा बुटवलमा शोकसभा
गत आइतबार पोखरामा भएको विमान दुर्घटनामा परी ज्यान गुमाएका पत्रकार त्रिभुवन पौडेललगायतको स्मृतिमा प्रेस सेन्टर नेपाल रूपन्देहीले शोकसभा गरेको छ ।
प्रेस सेन्टर नेपालका केन्द्रीय उपाध्यक्ष तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रहेका पौडेलको स्मृतिमा देशैभरका शाखा कमिटीहरूले शोकसभा गर्ने केन्द्रीय सर्कुलर अनुसार मंगलबार बुटवलमा शोकसभा गरिएको सेन्टरका रुपन्देही जिल्ला इन्चार्ज रुद्रहरी कुँवरले जानकरी दिए।
शोकसभामा बोल्दै नेकपा माओवादी केन्द्र रुपन्देहीका जिल्ला संयोजक निर्मल जिसीले दुर्घटनामा ज्यान गुमाउने पत्रकार पौडेल लगायत मृतक सबैमा श्रद्धाञ्जली अर्पण गरे । सो क्रममा उनले यस प्रकारका भयानक दुर्घटनाबाट गम्भीर पाठ सिकेर आगामी दिनमा दुर्घटना दोहोरिन नदिन सम्बन्धित पक्षले ध्यान दिनुपर्ने बताए । त्यसै गरी पत्रकार पौडेलसँग निकट सम्बन्धमा रहेर लामो समय काम गरेका प्रेस सेन्टर नेपालका उपमहासचिव यानेन्द्र जिसीले नेपाली पत्रकारिता जगतले एक होनहार पात्र गुमाएकोमा दुख व्यक्त गरे। उपमहासचिव जिसीले पत्रकार पौडेलको जीवनी सहित उनको योगदानको चर्चा गरेका थिए ।
कार्यक्रममा प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य सरु राना, भुवन कार्की, प्रदेश सदस्य संजय सौगात, माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य रामप्रसाद पोखरेल, बुटवल उपमहानगर अध्यक्ष महेन्द्र भुसाल लगायतको सहभागिता रहेको थियो ।