अघिल्लो संसदमा गरे प्रतिज्ञा पुरा गर्न सकिन : राजेन्द्र लिङ्देन
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले अघिल्लो संसदमा प्रतिज्ञा गरे अनुसार धेरै साथी लिएर आउन नसकेको बताएका छन् ।
४ मंसिरको चुनावबाट निर्वाचित प्रतिनधिसभाको पहिलो बैठकमा बोल्दै उनले धेरै संख्यामा प्रतिनिधित्व हुन नसके पनि जनताको भावनाको बलियो प्रतिनिधिको रुपमा आएको बताए ।
‘अघिल्लो कार्यकालमा यो संसद भवन छोड्ने बेलामा अलि धेरै साथी लिएर आउँछु भनेको थिएँ, धेरै त लिएर आउन सकिन, तर जनताको भावनाको एउटा बलियो प्रतिनिधिको रुपमा हामी संसदमा आएका छौं’ उनले भने ।
अध्यक्ष लिङ्देनले जनताले एउटा राजनीतिक दलमाथि पूर्ण रुपमा विश्वास गर्न नसकेको र सबै दल र विचारलाई मिलेर अघि बढ्न जनादेश दिएको बताए । ‘कुनै पनि राजनीतकि दल एक्लै अगाडि जान सक्दैनौं । कुनै पनि दल र विचारलाई निषेध गरेर जान सक्दैनौ’ उनले भने, ‘सबै दल र सबै विचार मिलेर मात्र यो देशको निकास हुन सक्छ । समस्याको समाधान हुन सक्छ भन्ने जनादेश छ ।’