संसदीय दलको नेताको चुनाव गर्न कांग्रेसले बनायो समिति
नेपाली कांग्रेसले संसदीय दलको नेताको चुनाव गर्न समिति बनाएको छ।
आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले सहमहामन्त्री भीष्मराज आङ्देम्बेको संयोजकत्वमा तीन सदस्यीय समिति बनाएको हो।
समितिका सदस्यमा पुष्पा भुसाल र प्रकाश स्नेही छन्। यो समितिले संसदीय दलको नेताको चुनाव कहिले गर्ने भनेर मिति तोक्नेछ।
आजको बैठकमा दुई/तीन दिनभित्र संसदीय दलको नेताको चुनाव गर्नेबारे छलफल भएको छ। कांग्रेस संसदीय दलको नेताको चुनाव आउने बुधबार हुने सम्भावना छ।