एसपिपी पास नहुँदा प्रधानमन्त्रीको अमेरिका भ्रमण रद्द भयोः माधव नेपाल
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) रद्द गरेकै कारण प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण रद्द भएको दाबी गरेका छन्।
शुक्रबार काठमाडौंमा पार्टीको बागमती प्रदेश कमिटीको तेस्रो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एसपिपी रद्द गरेकै कारण प्रधानमन्त्री देउवाको अमेरिका भ्रमण रद्द भएको दाबी गरेका हुन्।
उनले एमसिसीलाई व्याख्यात्मक घोषणा गरेरमात्रै पास गर्नु नै ठूलो कुरा भएको बताए।
अध्यक्ष नेपालले व्याख्यात्मक घोषणासहित एमसिसी पास गर्दासमेत अमेरिकीहरूको नेपाल भ्रमण बढेको र तिब्बती शरणार्थी शिविरमा पुगेर सरकारी गाडी अघि-पछि लगाउने काम गरिरहेको बताए।
उनले एमसिसी जस्ताको तस्तै पास गरेको खण्डमा देश तहसनहस हुने दाबी गरे।
अध्यक्ष नेपालले व्याख्यात्मक घोषणा गर्दासमेत छिमेकी देशलाई संवेदनशील बनाउने काम भइरहेको बताए।
उनले भने, ‘हामीले एमसिसीलाई पनि यथास्थितिमा पास हुन दिएनौं। व्याख्यात्मकसँग जोड्यौं। इण्डोप्यासिफिकको अंग हुन्छ भने अस्वीकार गर्छौं भन्यौं। यथास्थितिमा पास भएको भए नेपालको राजनीति थाहा छ? व्याख्यात्मक टिप्पणी राख्दा अमेरिकीको लर्को लाग्न थालेको थियो, यहाँ आएर तिब्बती क्याम्पमा जान थाले। सरकारी गाडी अघि-पछि घुमाउन थाले। नेपालको भूमिमा छिमेकी देशलाई संवेदनशील बनाएर काम हुन थाल्यो। एसपिपी केपी ओली प्रधानमन्त्री भएकै पालोमा ल्याएको थाहा भयो। त्यस्तो अवस्थामा शेरबहादुर प्रधानमन्त्रीले त्यसमा हामी अस्वीकार गर्छौं भनेपछि हुन लागेको अमेरिका भ्रमण पनि रद्द भयो, थाहा छैन?’
अध्यक्ष नेपालले आगामी प्रदेश र संघको निर्वाचनको मिति कुनै पनि समयमा घोषणा हुनसक्ने बताए।
उनले अब चाँडै चुनावको मिति घोषणा हुने भएकोले चुनावको तयारी गर्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिए।
अध्यक्ष नेपालले संसदको अधिवेशन सकिनेबित्तिकै निर्वाचनको मिति घोषणा गरिने भएकोले मंसिरभन्दा पछि जाने सम्भावना नरहेको उल्लेख गरे।
उनले पार्टीका नेताहरूलाई जिल्लामा केन्द्रीकरण हुन आग्रह गरे।
उनले भने, ‘जुन मंसिर महिनाको २ गते निर्वाचन भन्ने कुरा बाहिर आएको छ तर हामीले भनिसकेका छैनौं। तर अनुमान के छ भने संसदको अधिवेशन सकिनेबित्तिकै ४ महिनाअघि चुनावको मिति घोषणा गर्नुपर्ने भएको हुनाले मंसिरभन्दा पर जाने सम्भावना नभएको हुनाले चुनावको मिति कुनै पनि बेलामा घोषणा हुनसक्छ। त्यो तयारीमा अहिलेबाट नै जुट्नुस्। अब तुरून्तै चुनावको मिति घोषणा हुनसक्ने भएकोले प्रत्येक जिल्ला-जिल्लामा नेताहरूको केन्द्रीकरण होस्।’
अध्यक्ष नेपालले अमेरिका नाटो र इण्डोप्यासिफिकको संयन्त्रद्वारा रूस, चीन र उत्तर कोरियालाई सखाप पार्ने रणनीतिमा रहेको बताए।
उनले चीन र रूसले पनि अमेरिकालाई जवाफ दिन आफ्नो सैन्य शक्ति बढाउने काम गरिरहेको र हातहतियार खरिद गर्ने र निर्माण गर्ने काम गरिरहेको भन्दै अन्तर्राष्ट्रिय परिस्थिति निकै जटिल रहेको बताए।
उनले भने, ‘अहिलेको अन्तर्राष्ट्रिय परिस्थिति निकै जटिल छ। नाटोको बिस्तार भएको भएकै छ। रूसलाई घेराबन्दी गर्ने र नाटोमा नयाँ सदस्य थप्दै युक्रेनलाई नाटोको सदस्य बनाएर रूसलाई घेराबन्दी गरी समाप्त पार्नेगरी अमेरिका अघि बढिरहेको छ। इण्डोप्यासिफिक रणनीति अघि सारेर जापान र अष्ट्रेलियालाई साथमा लिएर भारतलाई पनि साथमा लिएर चीन र उत्तर कोरियालाई समाप्त पार्ने नीति लिएर अमेरिका अघि बढिरहेको छ। यतिबेला चीन र रूसले पनि जस्तालाई तस्तै जवाफ दिन्छु भनेर अघि बढेको छ।’
अध्यक्ष नेपालले एमालेलाई अहिले धेरै प्रहार गर्नु नहुने बताए।
उनले आफ्नो पार्टीमाथि एमालेले अहिले प्रहार नगरेको उल्लेख गर्दै एमालेलाई पनि प्रहार गर्नु उचित नभएको बताए।
अध्यक्ष नेपालले अहिले निर्वाचनको परिणामले आफूहरू नेकपा एमालेभित्र हैसियत भएको शक्तिका रूपमा रहेको बताए। सोही शक्तिलाई बेवास्ता गर्दा एमालेले नोक्सान भोगिरहेको दाबी गरे।
उनले भने, ‘अहिले निर्वाचनको परिणामले एउटा सन्देश दिएको छ। त्यो सन्देश भनेको नेकपा एमालेभित्र हामी एउटा हैसियत भएको शक्ति थियौं भन्ने हो। यत्रो ठूलो पंक्तिलाई बेवास्ता गर्दा सबभन्दा धेरै नोक्सान एमालेलाई नै भएको छ। पार्टीलाई उचाइमा पुर्याउने क्षमता हामीमा छ। राष्ट्रिय राजनीतिमा हाबी हुनसक्ने खुबी हामीमा छ। अहिले एमालेले हामीमाथि धेरै प्रहार गरिरहेका छैनन्। हामीले पनि प्रहार गर्नुहुँदैन। राष्ट्रिय राजनीतिमा भएको हाम्रो हैसियतबाट निराश हुनुपर्ने अवस्था छैन।’
अध्यक्ष नेपालले अझै पनि जनतामा भिजेका नेताहरू आफ्नो पार्टीमा रहेको र त्यसको उदाहरण पोखरा नगरपालिका र हेटौंडा उपमहानरगपालिकामा देखिएको बताए।